झरीकाे कहर : कालीगण्डकी करिडोरको बागलुङ खण्ड २ दिनदेखि ठप्प

झरीकाे कहर : कालीगण्डकी करिडोरको बागलुङ खण्ड २ दिनदेखि ठप्प


बागलुङ ।

लगातारको वर्षा र पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड २ दिनदेखि अवरुद्ध छ ।

पहिरो झर्ने क्रम नरोकिएका कारण पहिरो पन्छाउन समस्या हुँदा सडक अवरुद्ध भएको हो । बागलुङ नगरपालिका–१० दबल्याङमा २ दिनदेखि सडक अवरुद्ध भएको छ । बागलुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडक सम्बन्धविच्छेद भएको हो ।

दब्ल्याङ हुँदै बलेवा कुश्मीसेरा जाने सडकसमेत गए रातिदेखि बन्द छ । वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

करिडोरको दब्ल्याङमा यही साउन २६ गतेदेखि लगातार लेदो बगिरहेका कारण सवारी चल्न सकेका छैनन् । सडक अवरुद्ध हुँदा २ दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जिल्ला सदरमुकामसँगको सडक सञ्जालबाट टुटेको छ ।

दब्ल्याङको पहाड गहिरिएर पहिरो गएका कारण बलेवा, भकुण्डे, कुश्मीसेरा र बरेङ जाने सवारीसाधन अलपत्र परेका छन् ।

यस्तै बागलुङ बजारदेखि तित्याङ हुँदै भकुण्डे जाने सडकसमेत अवरुद्ध छ ।