शालिग्राम करिडाेरकाे १७ किमी सडक कालाेपत्र गर्न १६ कराेडमा ठेक्का

शालिग्राम करिडाेरकाे १७ किमी सडक कालाेपत्र गर्न १६ कराेडमा ठेक्का

प्रदेश गाैरवकाे साे आयाेजना २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य


तनहुँ ।

गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको शालिग्राम करिडाेर लोकमार्ग सडकखण्डमा कालोपत्रका लागि ठेक्का सम्झौता गरिएको छ ।

उक्त सडक खण्डमा कालोपत्र गर्न ३ वटा ठेक्का सम्झौता गरी ठेकेदार कम्पनी निर्माण स्थलमा खटिसकेकाे पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

शालिग्राम करिडोरअन्तर्गत ८२ किलोमिटर सडक छ । उक्त दुरीमध्ये दासढुंगादेखि देउपुरसम्मको ६.२ किलोमिटरमा यसअघि नै १३ करोड रुपैयाँ लागतमा कालोपत्र भइसकेको छ ।

देउपुरबाट भतेरीसम्मको करिब १७ किलोमिटर दुरीमा कालोपत्रका लागि चालु आवदेखि नयाँ ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको इन्जिनियर अमरेन्द्र यादवले जानकारी दिए । उनका अनुसार उक्त खण्डमा २ वर्षभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ । यस सडक निर्माणका लागि ८ करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

त्यस्तै, घिरिङ गाउँपालिकाको बैदीबाट पुटटारसम्मको ३२ किलोमिटर दुरीमा ग्राभेल सडक निर्माणका लागि दुइटा ठेक्का सम्झौता भएको छ । घिरिङको करुवाटारसम्मको २१.५ किलोमिटरका लागि ४ करोड रुपैयाँमा सम्झौता भएको छ ।

करुवाटारदेखि १०.४ किलोमिटर दुरीका लागि पनि ४ करोड रुपैयाँमा दोस्रो सम्झौता भएको इन्जिनियर यादवले बताए । दुवै सडकखण्ड सम्झौताअनुरुप चालु आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य छ । ३ वटा ठेक्काका लागि १६ करोड रुपैयाँ लागत छ ।

शालिग्राम करिडोर लोकमार्गअन्तर्गत देवघाटको दासढुंगा पुलबाट देउपुर, कोटा, रूपटार, मानपुर, डेढगाउँ, बैदी हुँदै पाल्पाको रामपुर र स्याङ्जा जोड्ने आयोजना रहेको कार्यालय प्रमुख दिनेशराज घिमिरेले जानकारी दिए । उनका अनुसार स्याङ्जाबाट रुपटार, पुटटार मधुवनटारलगायत ६ बस्तीलाई उक्त सडकले जोड्ने छ ।

उक्त क्षेत्रमा कृषिदेखि औद्योगिकग्राम स्थापनाको प्रचुर सम्भावना रहेकाले त्यस क्षेत्रका बस्तीलाई सडकसँग जोड्दै आर्थिक विकासका गतिविधि सञ्चालन गर्ने लक्ष्य राखिएको उनले बताए ।

सुरुमा पाल्पा र स्याङ्जालाई तनहुँसँग जोडेपछि कालीगण्डकी करिडोर हुँदै धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ मन्दिरसम्म जोड्ने प्रदेश सरकारको दीर्घकालीन योजना छ ।