पहिरो पन्छाएपछि त्रिभुवन राजपथमा गाडी गुड्न थाले

पहिरो पन्छाएपछि त्रिभुवन राजपथमा गाडी गुड्न थाले


हेटौँडा ।

शनिबारदेखि लगातार परेको वर्षाका कारण त्रिभुवन राजपथको लामीडाँडामा आज बिहान गएको पहिरो पन्छाएपछि हेटौँडा–काठमाडौँ यातायात सञ्चालनमा आएको छ ।

भीमफेदी गाउँपालिका–९ को अन्तर्गत लामीडाँडामा पहिरो जाँदा आज बिहान करिब ४ बजेदेखि उक्त खण्डमा यातायात सेवा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरले जनाएको छ ।

भैँसेस्थित सडक विभागको जेसिबी र लोडरसहितको प्राविधिक टोली आज बिहानैदेखि पहिरो पन्छाउने प्रयास गरे पनि दिउँसो १ बजेदेखि यातायात सञ्चालन भएको पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए । उनका अनुसार उक्त सडक खण्ड भएर हेटौँडा, पालुङ र काठमाडौँतर्फ यातायात सञ्चालनका लागि अहिले कुनै अवरोध छैन ।

त्यस्तै, काठमाडौँबाट हेटौँडतर्फ जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गएको पहिरो पन्छाउने कार्य भइरहेको मकवानपुरका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार भैँसे–भीमफेदी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत सिस्नेरीतर्फको खण्ड पूर्णरुपमा अवरोध भएकाले फाखेलतर्फबाट यातायात सञ्चालन भइरहेको छ ।