महाकालीमा पानीकाे बहाव बढ्याे, पुल जीर्ण भएकाे भन्दै ४ पांग्रे गाडी राेकियाे

महाकालीमा पानीकाे बहाव बढ्याे, पुल जीर्ण भएकाे भन्दै ४ पांग्रे गाडी राेकियाे


महेन्द्रनगर ।

महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुल (शारदा ब्यारेज)मा ४ पांग्रे सवारीसाधनलाई रोक लगाइएको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ९५ हजार क्युसेक पुगेको छ ।

भारतीय पक्षले पुल जीर्ण भइसकेकाले नदीमा १ लाख क्युसेकभन्दा बढी पानी भएपछि ठुला सवारीसाधनलाई रोक लगाएको हो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक देवसिंह बडालले आज बिहानैबाट पुलमा आवागमनमा रोक लगाइएको जानकारी दिए ।

‘बिहान पानीको सतह बढेर २ लाख २४ हजार क्युसेक पुगेको थियो,’ उनले भने, ‘अहिले पैदलयात्रु र २ पांग्रे सवारीसाधन चल्न दिइए पनि ठुला सवारी साधनमा रोक लगाइएको छ ।’

सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा हुँदा महाकालीमा पानीको बहाव बढ्ने गर्छ । महाकालीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।