खाेलामा पुल नहुँदा ३ मिनेटकाे बाटाे १ घन्टा, ज्यान जाेखिममा राखेर फड्केबाट ओहाेरदाेहाेर

खाेलामा पुल नहुँदा ३ मिनेटकाे बाटाे १ घन्टा, ज्यान जाेखिममा राखेर फड्केबाट ओहाेरदाेहाेर


काठमाडाैँ ।

बागलुङलाई झाेलुंगे पुलकाे जिल्लाकाे नामले चिनिन्छ । तुलनात्मक रूपमा बढी झाेलुंगे पुल भएकाे यही जिल्लाका केही स्थानका नागरिक भने ज्यान जाेखिममा राखेर फड्केकाे प्रयाेग गरी खाेला तर्न बाध्य छन् ।

हिउँदमा खाेला सुकेर सहजै वारपार गर्न सकिने भए पनि मध्य बर्खामा खाेला उर्लेर आउँदा भने यस्तै काठबाट बनाइएकाे फड्केकाे सहायताले खाेला तर्नुपर्ने बाध्यता छ ।

 बागलुङको सुगमदेखि दुर्गमसम्मका विभिन्न बस्तीका नागरिक अहिले पनि पुल नहुँदा घन्टाैँ लगाएर लामो यात्रा गरिरहेका छन् । कतिपय ठाउँमा स्थानीयबासीले जनश्रमदान गरी काठको फड्के बनाएर वारपार गर्ने गरेका छन् । फड्केमा वारपार गर्न निकै जोखिम हुन्छ ।

वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि गलकोट नगरपालिका–२ मा स्थानीय खानीखोलामा फड्के बनाएर वारपार गरिरहेका छन् । वर्षौँदेखि यहाँ पुल निर्माणका लागि सरोकारवाला निकायलाई माग गरे पनि अहिलेसम्म चासो नदिएको स्थानीयबासी घनबहादुर रानाले गुनासो गरे ।

खानीखोला हिउँदमा निकै सानो हुने हुँदा बालबालिका पनि तर्न सक्ने भए पनि बर्खामा कोही वारपार गर्न नसक्ने उनको भनाइ छ । खोला बढेपछि आफूहरूले जंगलबाट काठ ल्याएर फड्के बनाएर अहिले वारपार गरिरहेको रानाले बताए ।

‘यो खोलामा पुल बनाउन धेरै पटक माग गरियो, अहिलेसम्म पुल बनेको छैन’, उनले भने, ‘बर्खामा धेरै गाह्रो हुने, केटाकेटीलाई एक्लै विद्यालय पठाउन डर, हामी पाका मान्छेलाई त फड्के तर्दा कतै खोलामा खसिन्छ कि भन्ने डर हुन्छ ।’

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गलेकाट क्षेत्रमा धेरै खोलानाला भएको हुँदा एकै पटक सबैतिर झोलुंगे पुल निर्माण गर्न नसकेको बताए ।

वडा नं २ को खानीखोला खोलामा पुल निर्माणका लागि योजना छनोट गर्ने बेला प्राथमिकतामा राखेर प्रदेशमा बजेट मागे गरेको भन्दै केही समयमै यहाँ पुल निर्माण गर्ने भण्डारीको भनाइ छ । खानीखोलामा बर्खामा मध्यपहाडी लोकमार्गको भल सबै यही मिसिने हुँदा पानीको सतह बढेर वारपार गर्न कठिनाइ हुने गरेको उनी बताउँछन् ।

‘गलकोट क्षेत्रमा धेरै ठाउँमा पक्की तथा झोलुंगे पुल निर्माण भएका छन्, पालिकाले सबैतिर एकै पटक पुल बनाउने क्षमता हुँदैन । सीमित स्रोतसाधान प्रयोग गरेर काम गर्नुपर्ने बाध्यता छ । तर प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर आवश्यक स्थानमा पुल निर्माण गर्छौँ, त्यो राम्रो प्राथमिकतामा छ’, उनले भने ।

निसीखोला, तमानखोला, भुजीखोला, काठेखोला, ताराखोला, बडिगाडलगायत बागलुङमा ठुल्ठुला खोला छन् । यी खोलाका धेरै ठाउँमा झोलुंगे पुल निर्माण भइसकेको छ । अझै धेरै निर्माण हुनुपर्ने आवश्यक देखिन्छ । वल्लो गाउँ र पल्लो गाउँ देख्दा नजिक देखिन्छन्  । तर बीचमा रहेका खोलाको कारण वारपार गर्न घन्टाैँ लाग्छ ।

निसीखोला गाउँपालिका–४ झिम्पा र वडा-५ कारीगाउँ नजिकै पर्छन् । तर बीचमा पुल नहुँदा वारिपारि गर्न आधा  घन्टादेखि ४५ मिनेट समय लाग्ने स्थानीय कमल विकले बताए ।

कारीखोलामाथि पुल निर्माण भए ३ मिनेटमै वरपार गर्न सकिने भन्दै उनले अहिले खोलामा बनाइएको साँघु तरेर वारपार गरिरहेको बताए । ‘२ गाउँ एकैपट्टि छन्, बीचमा खोला हुँदा आउजाउ गर्न १ घन्टाभन्दा बढी लाग्छ, स्थानीयको जग्गाजमिन वारिपारि छन्, फसल ल्याउँदा सास्ती हुन्छ । यहाँ पुल भएको हुन्थ्यो भने हामीलाई धेरै सजिलो हुन्थ्यो’, उनले भने ।

कारीखोलामाथि झोलुंगे पुल निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा सर्भे भएर काम सुरु भए पनि बजेट कटौती हुँदा पुल बन्न सकेको छैन । चालु आर्थिक वर्षमा पुल निर्माण सम्पन्न गर्ने निसीखोला गाउँपालिकाले जनाएको छ ।