सहरमा काेदाेकाे माग उच्च, गाउँमा जमिन बाँझै

सहरमा काेदाेकाे माग उच्च, गाउँमा जमिन बाँझै

महत्त्व थाहा नहुँदा काेदाे फालेर अन्य तरकारी लगाउँदै किसान


दिपायल ।

स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोकाे उत्पादन घट्दै गएकाे छ ।

पहिले सुदूरपश्चिमकाे डोटीमा काेदाेकाे खेती मनग्य हुने गरे पनि पछिल्लाे समय यसकाे खेती कम हुँदै गएकाे हाे । कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा काेदाे खेती नै लोप हुने अवस्थामा पुगेकाे छ ।

व्यावसायिक रूपमा खेती गर्ने किसानको संख्या कम हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीका रूपमा स्थापित कोदो लोप हुने अवस्थामा पुगेको हो ।

१ दशकअघि डोटीको दक्षिण भेगमा रहेका साविकका मन्नकापडी, बर्छैन, घागल, लानकोदारेश्वर, सिमचौर, कानाचौर, केदारअखडा र चवार चौतारा गाविस हाल बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिकालगायत ठाउँका किसानको मुख्य खाद्यान्न बाली कोदो थियो । अहिले कोदोखेती पूरै विस्थापित हुने अवस्थामा पुगेको किसान बताउँछन् ।

स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको अहिले डोटीका सीमित गाउँमा मात्र खेती गरिन्छ । रोटीका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहन भन्दै सहरी क्षेत्रका मानिसले काेदाेका परिकार खाने गर्छन् । कोदो खेती गर्ने किसानको संख्या दिनहुँ घट्दै गएको किसानको भनाइ छ ।

बढ्दो सहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेकाे छ । ग्रामीण भेगका मानिस सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाँझिँदै गएका हुन् ।

कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि बढ्दो सहरीकरणको प्रभावले कोदो खेती लोप हुने अवस्थामा पुगेको बडीकेदार–५ थानकोटका उपेन्द्र धामीले बताए ।

कोदोको माग धेरै भए पनि खेती गर्ने किसान नभएपछि मागअनुसार जिल्लामै आपूर्ति गर्न नसकिने अवस्था रहेको बडीकेदार गाउँपालिकाको कृषि शाखाका नासु सुरेन्द्र शाहीले बताए ।

अहिले सहरी क्षेत्रमा यसको अत्यधिक माग भए पनि पछिल्लो समय किसानलेतरकारी खेती गर्न थालेपछि कोदो खेती लोप हुँदै गएको शाहीले बताए ।

अहिले सहरी क्षेत्रमा यसको अत्यधिक माग भए पनि उत्पादन घट्दै गएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए ।

डोटीमा २० देखि ३० प्रतिशत कोदो खेतीयोग्य जमिन भए पनि पछिल्लो समय ५ प्रतिशतले मात्र कोदो खेती गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।