नारायणी नदी बस्ती पस्ने चिन्ता, तत्काल नियन्त्रण गर्न मेयरकाे आग्रह

नारायणी नदी बस्ती पस्ने चिन्ता, तत्काल नियन्त्रण गर्न मेयरकाे आग्रह


चितवन ।

नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छिन् ।

भरतपुर–२७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज स्थलगल निरीक्षणका क्रममा उनले यस्ताे आग्रह गरेकी हुन् ।

सरोकारवालासहित नदी तटीय क्षेत्रमा निरीक्षणमा पुगेकी प्रमुख दाहालले ठेक्का लगाएका क्षेत्रमा ठेकेदारमार्फत् र अन्य क्षेत्रमा नारायणी नदी व्यवस्थापन आयोजनालाई आफैँले कटान रोक्ने काम अघि बढाउन आग्रह गरिन् ।

कटान गरेलगत्तै आइतबारै आयोजनालाई काम अघि बढाउन र आवश्यक परे महानगरका तर्फबाट जुनसुकै सहयोग गरिने बताएको उनले जानकारी दिइन् । उनले स्थानीयलाई भनिन्, ‘तपाईहरु ढुक्क हुनुहोस्- नदी बस्ती पस्न दिइँदैन ।’

सो ठाउँमा आयोजनाले कटान गरेको ठाउँमा सय वटा बोरामा ढुंगा भरेर राखेको छ । त्यसैगरी आज दिउँसोसम्म ४ ट्रक ठुला ढुंगा राखेर नदी नियन्त्रण गरिएको छ । थप ढुंगा आउने क्रम जारी रहेको दाहालले जानकारी दिइन् । सो ठाउँमा गरिएको तटबन्ध कटान गरेपछि आइतबार राति ११ बजेबाट काम थालिएको प्रमुख दाहालले बताइन् ।

सोही क्रममा उनले भरतपुर–२८ को लौखरीको तामाङ टोल र वडा-२६ को भगडीको शिवालय मन्दिर नजिक नारायणी नदीले कटान गरेका क्षेत्रको स्थलगत अवलोकन गरेकी थिइन् । सो क्रममा सँगै पुगेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, विभिन्न सुरक्षा निकायका प्रमुख, नारायणी नदी व्यवस्थापन आयोजनाका इन्जिनियर, वडाध्यक्षलाई दाहालले सबैले हातेमालो गरेर नदी कटान रोक्न लाग्न आग्रह गरिन् ।

तटबन्धको काम धमाधम भइरहेकाले अर्काे वर्षबाट समस्या नहुने उनको भनाइ थियो । तामाङ टोल र शिवालय मन्दिर छेउमा नदीले कटान थालेसँगै आवश्यक सावधानी तथा तटबन्धका काम गर्नुपर्ने देखिएको छ ।

नदी किनारलाई ५ भागमा विभाजन गरेर तटबन्धको काम भइरहेको छ । कटान क्षेत्र पुगेका नारायणी नदी व्यवस्थापन आयोजनाका डिभिजनल इन्जिनियर शंकर बुढाथोकीले नदीले कटान गरेका कतिपय क्षेत्रमा आयोजना र निर्माण व्यवसायीले काम गरेका क्षेत्रमा उनीहरूलाई कटान रोक्न भनिसकिएको बताए ।

नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ । विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै–थोरै काम हुँदै आएकामा रकमको निकासासँगै गत वर्षबाट नदी किनारका महानगरपालिकातर्फका अधिकांश भू–भागमा काम थालिएको हो ।

५ खण्ड बनाएर काम गरिएको छ । तीमध्ये नारायणी नदी बीच मोडलको काम सम्पन्न भइसकेको छ । बुढाथोकीका अनुसार समग्रमा ३५ प्रतिशत काम सम्पन्न भएको छ ।