एमसिसी खारेज माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

एमसिसी खारेज माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन


काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन, अखिल क्रान्तिकारीले एमसिसीको विरोधमा प्रदर्शन गरेको छ ।

सोमबार शान्ति वाटिकामा पार्टीको उपत्यका ब्युरो र संयुक्त जनवर्गीय संगठनको आयोजनामा एमसिसी सम्झौतामा भएका राष्ट्रघाती प्रावधानको विरुद्धमा प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन, अखिल क्रान्तिकारीका महासचिव ललित सिंहले एमसिसी सम्झौतामा रहेका बुदाँहरू देशको राष्ट्रियता, सार्वभौमिकता, जनताको सर्वोच्चता, नेपालको कानुन र नेपाली जनताको प्रतिकूल रहेको भन्दै उक्त सम्झौता लागू गर्न नहुने बताए ।

उनले एमसिसी परियोजनामार्फत् नेपाललाई आफ्नो अधीनमा राख्न खोजिएको भन्दै यो नेपालको हितमा नरहेको दाबी गरे ।

उनले भने, यो सम्झौतामा रहेका बुदाँका भावहरू देशको राष्ट्रियता, सार्वभौमिकता, जनताको सर्वोच्चता, नेपालको कानुन र नेपाली जनताभन्दा माथि छ । एमसिसी परियोजना लागू भयो भने अमेरिकाले नेपालको कुनै पनि नियम कानुन मान्न बाध्य हुँदैन । यो नेपाललाई आफ्नो अधीनमा राख्ने एउटा काम हो ।’

महासचिव सिंहले कुनै पनि हालतमा एमसिसी सम्झौता कार्यान्वयन हुन नदिने भन्दै जबरजस्ती लागू गर्न खोजिएमा अखिल क्रान्तिकारीले यसको प्रतिवाद गर्ने चेतावनी दिए ।