राेल्पालीकाे ‘काल’ बनेकाे सडक, साँघुराे सडकमा क्षमताभन्दा यात्रु राख्दा दुर्घटना बढ्दाे

राेल्पालीकाे ‘काल’ बनेकाे सडक, साँघुराे सडकमा क्षमताभन्दा यात्रु राख्दा दुर्घटना बढ्दाे


रोल्पा ।

यहाँका सडकले गर्दा रहेक वर्ष रोल्पालीले अकालमै ज्यान गुमाउनुपरेको छ । गत मंगलबार जिल्लाको परिवर्तन गाउँपालिका बाग्मारावाट दाङको घोराहीका लागि छुटेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु र १९ जना घाइते भएका थिए ।

दुर्घटना सहिदमार्ग सडक खण्डअन्तर्गत त्रिवेणी गाउँपालिका–७ तिलारिचिमा भएको थियो । सडकबाट करिब १५० मिटर तल खसेको उक्त बसमा २३ जना यात्रु सवार रहेकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । दुर्घटनामा एक दम्पतीसहित थप २ जनाको मृत्यु भएको थियो ।

माडी–४ रोल्पाका ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्ता डाँगीको एउटै चिहान भयो ।  प्रहरीका अनुसार उनीहरू उपचारका लागि जिल्लाबाट दाङ घोराही तर्फ जाँदै थिए । मृत्यु हुनेमा माडी–२ का २२ वर्षीय प्रकाश बाँठामगर र परिवर्तन–३ का ४६ वर्षीय भक्त विक रहेकाे सूचना अधिकारी भुसालले बताए ।

घाइते १९ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । घाइते सबैको घटनास्थलमा प्राथमिक उपचार गरी थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको सूचना अधिकारी भुसालले जानकारी दिए ।

सशस्त्र युद्धकाे समयमा निर्माण सुरु गरिएको सहिद मार्ग जिल्लाको रुन्टीगढी, त्रिवेणी, रोल्पा नगरपालिकाका साथै माडी, परिवर्तन र थवाङ गाउँपालिकाको भूभाग भएर जान्छ । उक्त खण्डले दाङको घोराहीदेखि रोल्पाको थवाङ खण्ड र रुकुमको चुनवाङसम्म जोड्छ ।

निर्माण सुरु हुँदाका बेला उक्त सडक खन्न रोल्पा, रुकुम, सल्यान, जाजरकोट, दाङ,पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, पर्वतका जनताले २ पटक गरी २०/२० दिन श्रमदान गरेका थिए ।

आर्थिक वर्षको सुरुआतमै जिल्लामा भएको भयावह दुर्घटना पहिलो वा एकमात्र भने होइन । प्रत्येक वर्ष यसैगरी दुर्घटना भएर ठूलो धनजनको क्षति हुने गरेको छ ।

सहिद मार्गसँगै जिल्लामा पछिल्लो समय सडकको पहुँच विस्तार भएकाे छ । संघ, प्रदेश र स्थानीय तहका बजेटको ठूलो हिस्सा सडकमा खर्च हुँदा यहाँका भित्री गाउँमासमेत सडक सञ्जाल विस्तार भएका हुन् । सडक सञ्जाल विस्तारसँगै जिल्लामा सवारी दुर्घटनासमेत बढ्दै जान थालेकाे स्थानीय बताउँछन् ।

आर्थिक वर्ष २०७९/८० मा ७२ वटा सवारी दुर्घटना भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्लामा सबैभन्दा धेरै दुर्घटना हुनेमा मोटरसाइकल देखिएको छ ।

साे वर्ष ३१ मोटरसाइकल, कार, जिप र भ्यान १६, ट्र्याक्टर १०, टेम्पो ८, बस ५, टिपर ४, ट्रक र एम्बुलेन्स २/२ वटा दुर्घटना भएको कार्यालयले जनाएको छ । ती दुर्घटनामा १८ जनाले ज्यान गुमाउनुका साथै १५२ जना घाइते भएका थिए ।

चालु आवमा सबैभन्दा बढी सवरी दुर्घटना हुनेमा सुनिल स्मृति गाउँपालिका देखिएको छ । उक्त पालिकामा हालसम्म २२ वटा दुर्घटना भएका जनाइएको छ । ती दुर्घटनाबाट ४ जनाको मृत्यु र ३३ जना घाइते भएका थिए ।

त्रिवेणीमा १२, रुन्टीगढीमा १०, माडीमा ६, गंगादेवमा ४, परिवर्तनमा ६, थवाङ गाउँपालिकामा ३ वटा सवारीसाधन दुर्घटना भएकाे ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, रोल्पा नगरपालिकामा १३ सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु र २१ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले जानकारी दिए ।

उनका अनुसार जिल्लामा हुने अधिकांश दुर्घटना तीव्र गति, क्षमताभन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्रबिना सवारीसाधन चलाउनेलगायत कारण छन् ।

‘सवारी चलाउँदा लापरबाही गर्नु, गाडीका छत तथा पिकअपको खुल्ला भागमा चढे्र यात्रा गर्नु, मादकपदार्थ सेवन गरी सवारी चलाउनुलगायत दुर्घटनाका कारण हुन्,’ उनले भने ।

साघुँराे सडक, क्षमता भन्दाबढी यात्रु, यातायात व्यवसायीकाे अस्वस्थ्य प्रतिस्पर्धा, मादक पदार्थको सेवन गरी सवारी चलाउनु जस्ता कारणले दुर्घटना गराउन भूमिका खेल्ने नागरिकको गुनासो छ । हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य सडकका कारण दुर्घटना बढेकाे स्थानीयको भनाइ छ ।

चालकलाई जिम्मेवार बनाउन नियमित स्वास्थ्य जाँच गराउने, मानसिक स्वास्थ्यप्रति सचेत रहन ध्यानाकर्षण गराउने, ट्राफिक नियमका सम्बन्धमा समयसमयमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने पत्रकार काशीराम डाँगीले सुझाव दिए ।

जिल्लामा बढेको सवारी दुर्घटनासँगै जिल्ला अदातलमा सवारी दुर्घटनासम्बन्धी मुद्दाको सङ्ख्यासमेत बढेकाे छ । गत आर्थिक वर्षमा ज्यान वा अंगभंग वा घाइते भएको कसुरमा १४ मुद्दा परेका अदालतले जनाएको छ ।