मीड सोलु हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

मीड सोलु हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं ।

मीड सोलु हाइड्रोपावरको आइपिओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिने आज (साउन ३० गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साउन १४ गतेदेखि आइपिओ बिक्री खुला गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने यसमा (साउन २८ गते) सम्म आवेदन दिने ब्यवस्था रहेको थियो ।

यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १०५ अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यसआधारमा १ सय अंकित मूल्यमा ७ लाख ४८ हजार ४ सय कित्ता सेयर स्थानीयलाई भएको हो ।

योमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३,४,५,६, ७ र ११ का बासिन्दालाई निष्कासन गरेको हो ।

त्यस्तै, १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ ।

यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लसइस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

स्थानीयले यस आयोजनाको आयोजना स्थल, एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।