अब प्रहरी सरुवा/बढुवामा ‘ब्रिफकेस’ र भनसुन नचल्ने

अब प्रहरी सरुवा/बढुवामा ‘ब्रिफकेस’ र भनसुन नचल्ने

एकैपटक ९५८ इन्स्पेक्टरको सरुवा, ६४ जनाको बढुवा


काठमाडौँ ।

नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागू भएको छ ।

‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड-२०७९’ अनुसार ठुलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको गृह मन्त्रालयले जनाएको छ ।

तालिमपश्चात् पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवं सहायक दरबन्दीतर्फ सरुवा भएको छ ।

त्यस्तै ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ । यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएका हुन् ।

मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको संख्या, भौगोलिक अवस्थितिलगायत आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ ।

त्यसमध्ये ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवं कार्यसम्पादन स्तर समेतका आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ ।

पहिलो पटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दा भने अनिवार्य रूपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ । त्यस्तै यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखका रूपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाई मापदण्डबमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ ।

यसरी श्रेणी छुट्याएर मापदण्डअनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ ।
पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्यका लागि उक्त मापदण्ड बनेको हो ।