गण्डकीका खानेपानी आयाेजनालाई राहत, बिजुली महसुलमा सरकारकाे अनुदान

गण्डकीका खानेपानी आयाेजनालाई राहत, बिजुली महसुलमा सरकारकाे अनुदान


गण्डकी ।

गण्डकी प्रदेशका २४० वटा लिफ्टिङ खानेपानी आयोजनाले विद्युत् महसुलमा अनुदान पाएका छन् ।

गत आर्थिक वर्षमा ती आयोजनालाई १ करोड ८८ लाख २६ हजार रुपैयाँ अनुदान रकम प्रदान गरिएको प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गत वर्ष बनाएको मापदण्डअनुसार अनुदान उपलब्ध गराइएको खानेपानी शाखाका इन्जनियर टेकन पण्डितले जानकारी दिए । मासिक १५ हजारसम्मको बिजुली खपत गर्ने आयोजनालाई शतप्रतिशत र १५ हजारदेखि ३० हजारसम्मको विद्युत् खपत गर्नेलाई ७५ प्रतिशत अनुदान दिइएको हो ।

यस्तै ३० हजारदेखि ६० हजारसम्मकाे महसुल लाग्ने आयोजनालाई ५० प्रतिशत र मासिक ६० हजारभन्दा बढीको विद्युत् खपत गर्ने आयोजनालाई कुल महसुलको २५ प्रतिशत अनुदान प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

‘लिफ्टिङ खानेपानी आयोजनमा विद्युत् महसुल अनुदानका लागि मन्त्रालयले ५ करोड बजेट छुट्ट्याएको थियो’, इन्जिनियर पण्डितले भने, ‘गत आवमा २४० आयोजना मात्र अनुदानका लागि छनोटमा परे । यो वर्षदेखि लिफ्टिङ सिँचाइमा पनि अनुदान कार्यक्रम सुरु हुँदै छ ।’

लिफ्टिङ सिँचाइ आयोजनाको विद्युत् महसुल अनुदानका लागि मादपण्ड बन्न बाँकी रहेको जनाइएको छ । अनुदान प्राप्त हुने आयोजनाको विद्युत् अन्य घरायसी तथा व्यावसायिक प्रयोजनमा गर्न नपाइने मापदण्डमा उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणको कालो सूचीमा परेका अनुदानग्राहीलाई पनि अनुदान नदिइने मन्त्रालयले जनाएको छ ।

अनुदानका लागि छनोटमा परेका आयोजनाले मासिक रूपमा विद्युत् महसुल तिरेको सक्कल बिल र विद्युत् अनुदान परिचयपत्रसहित सम्बन्धित कार्यालयमा निवेदन पेस गर्नुपर्ने व्यवस्था छ । मन्त्रालय मातहतका निकाय र कार्यालयमा अनुदानका लागि परेका निवेदनमाथि छानबिन तथा जाँचबुझ गरी मन्त्रालयले आयोजना छनोट गर्ने गरेको छ ।

कार्यविधि बमोजिम अनुदानग्राहीका रूपमा छनोट भई दर्ता भएका र अनुदान परिचयपत्र प्राप्त गरेका आयोजनालाई मासिक अनुदान दिने गरिएको मन्त्रालयले जनाएको छ । यो वर्ष लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा अनुदान दिन ५ करोड ५ लाख बजेट विनियोजन गरिएको छ ।