नगरपालिकाले बनाइदियाे अस्पतालकाे सभाहल

नगरपालिकाले बनाइदियाे अस्पतालकाे सभाहल


काठमाडौँ ।

गोकर्णेश्वर नगरपालिकाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका लागि सभाहल निर्माण गरिदिएको छ ।

अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरूप सभाहल निर्माण गरिदिएको हो । नवनिर्मित सभाहलको नगरपालिका प्रमुख दीपककुमार रिसालले सोमबार उद्घाटन गरे ।

उद्घाटन समारोहमा उनले नगर क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रको स्तरोन्नति, क्षमता अभिवृद्धि गर्ने अभियान कायम नै रहेको बताए । उनले गोकर्णेश्वर नगरपालिकाका नागरिकको स्वास्थ्य बीमा निःशुल्क गरिएको जानकारी दिए ।

नगर प्रमुख रिसालले ७५३ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य ब‍िमा लागू गर्ने पहिलो निकाय भएको दाबि गरे । उनले अस्पातलसँग सहकार्य गरी नागरिकलाई सुलभ र सहजरूपमा सेवा उपलब्ध गराउने बताए ।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले नगरपालिकाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताको अपेक्षा गरे । उनले अस्पतालले उपलब्ध गराएको सेवाहरूका बारेमा जानकारी गराउँदै नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउने प्रयास भइरहेको जानकारी गराए ।

सो अवसरमा निःशुल्क साधारण बहिरंग सेवा (ओपिडी) सेवा, यसैगरी रक्तदान तथा अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।