मुग्लिन पोखरा सडक : ६ घण्टाको यात्रा अहिले १२ घण्टा लाग्ने, पर्यटक घटे

मुग्लिन पोखरा सडक : ६ घण्टाको यात्रा अहिले १२ घण्टा लाग्ने, पर्यटक घटे


दमौली ।
गण्डकी प्रदेशको मुग्लिन–पोखरा सडक विस्तार योजना कार्यान्वयनमा ढिलाइ हुँदा पर्यटन क्षेत्रमा असर परेको छ ।
सडक निर्माणको कामले गति लिन नसक्दा समग्र गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा असर पुगेको र यसले पर्यटकको आगमन पनि घटाएको सम्बद्ध व्यवसायीहरूको गुनासो छ ।
सडक आयोजनाको काम सुस्त गतिमा चलिरहँदा नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग वाणिज्य क्षेत्रमा पनि असर परेको  पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
काठमाडौं वा नारायणगढ हुँदै पोखरासम्म यात्रा गर्न चाहने पर्यटकले सिंगो दिन खर्चिनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले भने, “काठमाडौं–पोखराबीचको ५ देखि ६घण्टा लामो बसयात्राका लागि अहिले १२ घण्टासम्म लाग्ने गरेको छ । यसले गर्दा पोखरा र वरपरको पर्यटनमा नराम्रो असर परेको छ ।”
भूकम्प र नाकाबन्दीपछि कोभिड–१९ को मार खेपेको पर्यटन र उद्योग वाणिज्य क्षेत्रका लागि पहुँचमार्गको यो अवरोध अर्को अभिशाप बन्न पुगेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । नेपालका दुई ठूला सहर काठमाडौँ र पोखरा जोड्ने पृथ्वीराजमार्गअन्तर्गतको उक्त खण्डलाई कम्तीमा चार लेन बनाउने कार्य महत्वपूर्ण र सराहनीय रहे पनि जुन गति र स्तरमा हुनुपथ्र्यो त्यो नभएको उनले बताए ।
मुग्लिन–पोखरा सडकखण्डको कामको ढिलाइका कारण बन्दीपुरको पर्यटन व्यवसायमा असर पुगेको  बन्दीपुरस्थित क्षेत्रीय होटल संघका सभापति संगीता प्रधानको भनाइ थियो । उनले भने, “चितवनबाट आउने पर्यटक मुग्लिनबाटै काठमाडौँ फर्किन्छन् । बाटोकै कारण बन्दीपुरमा पर्यटकको आगमन घटेकाले यहाँका व्यवसायी मारमा परेका छन् ।”
धुलाम्ये र हिलाम्ये बाटोका कारण पर्यटक बन्दीपुर उक्लिन गाह्रो मान्ने गरेको उल्लेख गर्दै सभापति प्रधानले पोखरा आएका पर्यटक सडकमार्गभन्दा हवाइमार्गबाट काठमाडौं जाने गरेको बताए । उनले भने, “सडक राम्रो हुन्थ्यो भने बन्दीपुर आएर एकरात भए पनि पर्यटक बस्ने अवस्था थियो । बन्दीपुरको मुख्य व्यवसाय होटल पर्यटन भए पनि अहिले हामी मारमा छौँ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सडकको काम सुस्त हुँदा यसले अर्थतन्त्रमा असर गरेको बताए । उनले भने, “चीनका ठेकेदारले समयमै काम सम्पन्न गर्छन् भन्ने विश्वास थियो तर अहिले परिस्थिति फरक छ । कामको गति सुस्त छ । पर्यटन पाँच वर्षपछि परिसक्यो ।”
काम ढिला गर्नु नेपालको विकासलाई घात गरेको हुने भन्दै उनले केही समस्या भए अवगत गराएर समाधान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले यो खण्डमा भइरहेको काम सन्तोषजनक रहेको बताए । उनका अनुसार हालसम्म ३२ दशमलव ५ प्रतिशत भौतिक प्रगति भएको छ ।
निर्माण कम्पनीका इन्जिनियर जनार्दन भण्डारीका अनुसार उक्त खण्डमा १४ वटा साना पुल सम्पन्न भइसकेका छन् भने तीनवटा निर्माणको चरणमा छन् । बजार क्षेत्रमा छ लेन र अन्यत्र चार लेन सडक बनाउने योजना छ ।
मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा ३ ठूला र ४ साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।
यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । विसं २०२६ मा रेखांका भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक ४  लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।
४ लेनको सडक बन्दा सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।