पशु चाैपायामात्रै हाेइन किसानलाई पनि अपूरणीय क्षति गर्दै लम्पी स्किन

पशु चाैपायामात्रै हाेइन किसानलाई पनि अपूरणीय क्षति गर्दै लम्पी स्किन


चितवन ।

विगत वर्षकाे तुलनामा गत वर्ष चितवनमा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशतले घटेको जानकारी दिए।

उनका अनुसार अघिल्लो आवमा ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा दूध उत्पादन ९ करोड ८१ लाख ४३ हजार लिटरमा सीमित भएको छ । उनका अनुसार अघिल्लो आवमा दैनिक सरदर ३ लाख ५ हजार ५५३ लिटर दूध उत्पादन भएकामा गत आवमा दैनिक २ लाख ६८ हजार ८८४ लिटर मात्र उत्पादन भएको छ ।

उनका अनुसार लम्पी स्किन रोगको संक्रमणका कारण दूध उत्पादनमा कमी आएको हो । रोग लागेपछि पशुले दूध उत्पादन घटाउने, गाईभैँसी मर्ने र बजारमा दूधको माग कम भएपछि किसानले पशु पाल्न कम गर्दा उत्पादन घटेको उनले बताए ।

डा. आचार्यले भने, ‘लम्पी स्किनका कारण दूध उत्पादनमा कमी आएको छ । बजारमा दूधको माग पनि घटेको छ ।’

दूध उत्पादन बढाउन जिल्लामा लम्पी स्किनविरुद्धको खोप अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । लम्पी स्किन रोग नियन्त्रणमा आएपछि विस्तारै दूध उत्पादनमा वृद्धिमा उनको विश्वास छ । उनले भने, ‘जाडो मौसम सुरु भएसँगै रोगको संक्रमण कम हुने र दूध उत्पादनमा वृद्धि हुने अनुमान गरेका छौँ ।’

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दैनिक दूध उत्पादनमा गिरावट आएको बताए । उनले भने, ‘रोग लागेपछि दूध उत्पादन घट्ने र गाईभैँसी मर्ने हुँदा दूध उत्पादनमा कमी आएको छ ।’

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लामा ९३ हजार १८२ गाई र ७२ हजार ९७८ भैँसी पालन गरिएको छ । कार्यालयका अनुसार जिल्लामा हालसम्म ११ हजार ४७० पशुमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । यो रोगका कारण हालसम्म जिल्लामा २९५ गाई मरेका छन् ।