अपि पावरको हकप्रद सेयर बिक्री खुला, क–कसले पाउछन् दाबी गर्न ?

अपि पावरको हकप्रद सेयर बिक्री खुला, क–कसले पाउछन् दाबी गर्न ?


काठमाडौं ।

अपि पावर कम्पनीले आज बुधबार साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनमा ल्याएको हो ।

उक्त हकप्रद सेयरका लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । अपिको यस हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋणमोचन गर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।