कुनैबेलाकाे विष्णुमती नदी र हिउँदमा नदी तर्न बनाइएकाे पुल

कुनैबेलाकाे विष्णुमती नदी र हिउँदमा नदी तर्न बनाइएकाे पुल

सुनिल उलक
159
Shares

काठमाडाैँ । 

तस्बिरमा देखिएकाे काठमाडाैँकाे विष्णुमती नदी हाे । याे तस्बिर २०२३ सालतिर लिइएकाे हाे ।

काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिसहरूको धर्म परम्परा, संस्कृति तथा दैनिक जीवनसँग गाँसिएको विष्णुमती नदी कुनै बेला स्वच्छ र सफा थियो । मानिसहरू यही नदीमा नुहाउने, कपडा धुने गर्थे र पिउनका लागि पनि प्रयोग गर्थे ।

समय परिवर्तन तथा उच्च जनसंख्या वृद्धि र चेतनाको कमीले आज विष्णुमती नदी नभएर फोहोरको ढल समान भएको छ ।

यो नदी टेकु दोभानमा पुगेपछि हिन्दुहरूको आस्थासँग जोडिएको बाग्मती नदीमा मिसिएको छ । काठमाडौँ उपत्यकामा बग्ने पवित्र बाग्मती नदीमा बाग्मतीसहित ७ मतीहरूको संगम हुने गर्छ । यसैले बाग्मती नदीलाई सप्तमती पनि भन्ने गरिन्छ ।

शिवपुरीको उत्तरतर्फबाट बाग्मती नदी बहन थालेको छ । बाग्मतीको मूलद्वार भएको हुँदा यसलाई बागद्वार भन्ने गरिन्छ । साथै बाग्मती नदीलाई शिवको मुखबाट उत्पति भएको हुँदा शिवगंगा पनि भन्ने गरिन्छ ।

यही शिवपुरीको दक्षिणबाट भने विष्णुमतीको सुरुआत भएको छ । विष्णुमती नदीको मूलद्वार भएको हुँदा त्यस स्थानलाई विष्णुद्वार अथवा विष्णुपादुका भन्ने गरिन्छ । साथै विष्णुमती नदीलाई विष्णुको पाउ (खुट्टाको बुढी औँला)बाट उत्पति भएको मान्ने गरिन्छ ।

करिब १५ किमी लामो विष्णुमती नदीमा फोहोर फाल्ने कार्यले गर्दा दूषित भई नदीजन्य जीवजन्तुहरू पाइँदैनन् । जुन नदीमा कुनै पनि जीवजन्तु बस्दैन, त्यस्ता नदीलाई मृत नदी भनिन्छ । अहिले विष्णुमती नदी पनि मृत नदी भएको छ ।

यो नदीको नजिकै पुग्नुभयो भने हातले नाक थुन्नुपर्ने हुन्छ । यस नदी किनारमा मानिसको सभ्यताको विकास भएको थियो भन्न पनि लाज हुने भइसकेको छ । यस नदी किनारका विभिन्न ठाउँमा मन्दिर पौवा तथा श्मशान घाटहरू छन् ।

यस तस्बिरमा विष्णुमती नदी तर्नका लागी बनाइएको हिउँदे पुल देख्न सकिन्छ । यो हिउँदे पुलसँगै मानिसहरू हिँड्न मिल्ने पुल पनि थियो । तर पनि सहजताका लागि हिउँदमा पानीको बहाव कम हुने समयमा यस प्रकारको अस्थायी पुल बनाउने गरिन्थ्यो । याे पुल नजिकै लुँती अजिमाको मन्दिर छ ।