झण्डै २ सय किलो सुन बैंकमा थुप्रियो, व्यवसायीले थाले ‘लबिइंग’

झण्डै २ सय किलो सुन बैंकमा थुप्रियो, व्यवसायीले थाले ‘लबिइंग’


काठमाडौं ।

बैंकमा झन्डै २ किलो सुन थुप्रिँदा गहना व्यवसायीहरूले भने सुन आयातको कोटा बढाउन ‘लबिइंग’ थालेका छन् ।

चाडबाडसँगै बिहेको सिजन नजिकिएको र माग बढ्ने भन्दै उनीहरूले सुनको कोटा बढाउन ‘लबिइंग’ थालेका हुन् । व्यवसायीले अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र राष्ट्र बैंकका पदाधिकारीलाई भेटेर सुनको आयात कोटा बढाइदिन आग्रह गरेका छन् ।

आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कोटा प्रणाली लागू गरेको छ । कोटा प्रणालीअनुसार वाणिज्य बैंकले दिनको १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ । आयात कोटा बढाएर कम्तीमा २५ किलो पुर्‍याइदिन उनीहरूले आग्रह गरेका हुन् ।

सुन बिक्रीवितरण निर्देशिका ०६८ मा सुन आयात गरेका आधारमा वाणिज्य बैंकलाई ०.५ प्रतिशत मुनाफा राख्न पाउने व्यवस्था गरेको छ । व्यवसायीले पनि सुन बिक्री गर्दा ०.५ प्रतिशतसम्म मुनाफा राख्न पाउने सरकारले कार्यविधि बनाइदिएको छ । तर बैंकहरूले १ प्रतिशतसम्म मुनाफा राख्दै आएको महासंघले जनाएको छ ।

भदौमा दैनिक माग १५ किलोभन्दा बढी पुग्ने व्यवसायी बताउँछन् । माग बढेर २५ किलोसम्म पुग्ने महासंघको दाबी छ । तर, वाणिज्य बैंकको सुन भने बिकेको छैन ।

नेपाल बैंकर संघका अनुसार नयाँ आर्थिक वर्षमा २ सय किलो सुन आयात भएकामा ५ किलो मात्रै बिक्री भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि गत चैतमा पनि वाणिज्य बैंकहरूमा १ सय ८५ किलो सुन स्टक थियो । स्टक बढ्न थालेपछि वाणिज्य बैंकहरूले सुन आयात बन्द गरेका थिए । अहिले फेरि स्टक देखिएको छ । तर व्यवसायीले आयात कोटा बढाउनुपर्ने बताउँदै आएका छन् ।