२ अर्ब लागत घट्ने गरी फास्ट ट्र्याककाे डिपिआर परिवर्तन

२ अर्ब लागत घट्ने गरी फास्ट ट्र्याककाे डिपिआर परिवर्तन


काठमाडौँ ।

काठमाडौँ तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गरिएको छ ।

लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको डिपिआर संशोधन गर्ने निर्णय गरेको हो । झन्डै २ अर्ब २ करोड रुपैयाँ कम लाग्ने र निर्माणको समय पनि घट्ने गरी द्रुतमार्गको डिपिआर संशोधन भएको मन्त्री ज्वालाले बताए । उनले भने, ‘सुरुङ मार्ग थपिँदा सडकको लम्बाइ र मूल्य दुवै घट्यो ।’

काठमाडौँ–मधेस ‘लाइफ लाइन’ का रूपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

२०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग हालसम्म २५ दशमलव ५४ प्रतिशत मात्र प्रगति भएको र २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ ।

द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाएका थिए । द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताएका थिए ।

प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ । २ खर्ब १३ अर्ब ९ करोड ५३ लाख रुपैयाँ लागत रहेकामा संशोधनपछि २ खर्ब ११ अर्ब ९ करोड ३० लाख रुपैयाँ लागत रहने भएको छ ।