हस्पिटालिटीमा पैसा खन्याउदै बाराही ग्रुप : ६ अर्बमा ५ तारे होटल,आइपिओ निस्कासन गर्ने योजना

हस्पिटालिटीमा पैसा खन्याउदै बाराही ग्रुप : ६ अर्बमा ५ तारे होटल,आइपिओ निस्कासन गर्ने योजना


पोखरा ।

हस्पिटालिटी क्षेत्रमा ४ दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा ६ अर्बको लगानीमा ५ तारे होटल सञ्चालनको तयारी गरेको छ ।

बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ ।

कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले १ हजार २ सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । ६३ रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा १७१ कोठा निर्माण गरिनेछन् ।

होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ ।

सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड–१९ महामारीका कारण निर्माण अवरुद्ध भएको बाराही हस्पिट्यालिटीका संस्थागत निर्देशक योगेन्द्र थापाले जानकारी दिए ।

अहिले होटल द्रुत गतिमा निर्माण भइरहेको छ । भौतिक पूर्वाधारतर्फ ४६ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

हस्पिटालिटी क्षेत्रको लामो अनुभवलाई ५ तारे सुविधासम्पन्न होटलमार्फत सेवा विस्तार गर्न लागिएको निर्देशक थापाले बताए । बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको छिट्टै आइपिओ निस्कासन गर्ने योजना रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन गर्ने र खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरामा ५ तारे होटल निर्माण गरिएको निर्देशक थापाले बताए ।

सरकारले पोखरामा सन् २०१४ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) समिट आयोजना गर्ने योजना बनाएको थियो । तर, पोखरामा ५ तारे होटल नहुदाँ काठमाडौँमा आयोजना गरिएको थियो ।

पोखरामा लग्जरी होटलको अभाव पूर्ति गर्ने बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलको पोखरामा ५ तारे होटल बनाउने योजना अनुरुप परियोजना अघि बढेको थापा बताए ।

चालीस ४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराको लेकसाइटमा चारतारे होटल बाराही, रासाङकोट माउन्टेन लज, आवास पोखरा, चितवनमा बाराही जंगल लज, र काठमाडौँमा चारतारे होटल बाराही काठमाडौं सञ्चालन गर्दै आएको छ ।यस्तै, बाराही ग्रुपले पोखरामा ब्यञ्जन रेष्टुराँ र द बिच बार एन्ड लजसमेत सञ्चालनमा ल्याएको छ ।