धादिङमा ४१ करोड बढी विद्युत् महसुल उठाउन बाँकी, १०३ उपभोक्ता कालोसूचीमा

धादिङमा ४१ करोड बढी विद्युत् महसुल उठाउन बाँकी, १०३ उपभोक्ता कालोसूचीमा


धादिङ ।

धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार विद्युत् महसुल उठ्न बाँकी छ ।

प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र २७ करोड ५९ लाख ६४ हजार महसुल तिर्न बाँकी छ ।

महसुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म महसुल तिरेका छैनन । १०३ जना उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेको छ ।

लाइन काटेपछि ४ करोड २६ लाख ७४ हजार असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए । कालोसूचीमा परेका उपभोक्ताबाट ३७ लाख १२ हजार असुल गर्न बाँकी छ । धादिङ शाखाले गत आर्थिक वर्ष २०७९/८० अमा एउटा ग्राहकको रकम उठाउन काठमाडौं र भक्तपुरमा समेत उनीहरुको घरमा लाइन काटेको प्रमुख न्यौपानेको भनाइ छ ।

धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेका छन् । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नांगो तारलाई कालो तारमा रुपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन ।

गत आवमा विद्युत् चोरी गर्ने २९४ जनालाई कारबाही गरिएको थियो । उनीहरुबाट १४ लाख ८१ हजार जरिवाना असुल गरिएको उनले बताए ।

अघिल्लो आवमा १२३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरिएको थियो । गत आवमा ११ करोड २२ लाख ९१ हजार ६०९ युनिट विद्युत् बिक्री गरी १ अर्ब २ करोड रकम संकलन भएको प्राधिकरणको धादिङ शाखाले जनाएको छ ।