किसानकाे गाेठगाेठ पुग्छन् नगरपालिकाले खटाएका भेटेरिनरी डाक्टर !

किसानकाे गाेठगाेठ पुग्छन् नगरपालिकाले खटाएका भेटेरिनरी डाक्टर !


चितवन ।

जिल्लाको रत्ननगर नगरपालिकाले गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक सेवा सुरु गरेको छ ।

पालिकाका १६ वटै वडामा महिनाको एक पटक विज्ञसहितको प्राविधिक टोली किसानको खेत र गोठमा पुगेर बाली र पशुको उपचार गर्नेगरी सेवा सुरु गरिएको हो ।

नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार कृषि र पशुपालनको विकासको प्राविधिक सेवा सुरु गरिएको छ । नगर गौरवको योजनाअन्तर्गत यस कार्यक्रमलाई अघि बढाइएको बताउँदै उनले प्रभावकारी रूपमा अगाडि बढाइने बताए ।

यो कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेकाे छ । पशुपालनको विकास गरी दूध उत्पादन बढाउन घाँसमा प्रतिकट्ठा २ हजार र दूधमा प्रतिलिटर १ रुपैयाँ अनुदान रकम वितरण गरिने उनले बताए।

कार्यक्रमअन्तर्गत १६ वटै वडामा महिनाको एक पटक विज्ञसहितको प्राविधिक टोली किसानको खेत र गोठमा पुगेर बाली र पशुको उपचार गर्ने उनको भनाइ छ । उनले भने, ‘प्राविधिक सेवाको उपलब्धताका लागि नगरवासीले वडा कार्यालय तथा फोन गरेर प्राविधिकलाई खबर गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।’

यसैगरी विषादीमा ७५ प्रतिशत र रासायनिक विषादीमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । हाललाई कृषिमा ३ र पशुमा ३ जना प्राविधिक टोली परिचालन गरिएको छ ।

पशु शाखा प्रमुख शालिग्राम पौडेलका अनुसार गोठ र खेतमा पुगेका प्राविधिकले उपचारसँगै किसानलाई आवश्यक परामर्श सेवासमेत उपलब्ध गराउने छन् ।

पशुपालनतर्फ रत्ननगरमा ११५ वटा गाई फार्म र २५ वटा व्यावसायिक भैँसी फार्म छन् । यहाँ दैनिक ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

कृषितर्फ रत्ननगरमा १५ हजार किसानले खेती गर्दै आएको नगरपालिकाको तथ्यांक छ ।