किसानका समस्या : सिँचाइ सुविधा छैन, आफैँले जाेडेका माेटर र पम्पसेट पनि चाेरी

किसानका समस्या : सिँचाइ सुविधा छैन, आफैँले जाेडेका माेटर र पम्पसेट पनि चाेरी


बारा ।

बाराका किसानले धान रोपाइँ गर्न खेतमा जडान गरेका आधा दर्जनभन्दा बढी विद्युतीय मोटर र पम्पसेट चोरी भएको छ ।

जिल्लाको महागढीमाई नगरपालिका-३ र १० बाट मोटर र पम्पसेट चोरी भएको पीडित किसानले बताएका छन् ।

धान खेत सिँचाइ गर्न खेतमा राखिएको विद्युतीय मोटर र पम्पसेट चोरी भएको हो । महागढीमाई नगरपालिका– १०, गञ्जभवानीपुरस्थित प्रहरी चौकीदेखि ५०० दुरीमा रहेकाे खेतमा विद्युतीय मोटरबाट सिँचाइ गरिरहेको अवस्थामा मोटर चोरी भएको पीडित किसान कुइस राउत अहिरले बताए ।

उनका अनुसार राति १० बजे मोटर जडान गरी धान खेतमा पानी पटाउँदै गरेको अवस्थामा २ घन्टापछि हेर्न जाँदा मोटर हराएको थियो । चोरी भएको आशंकामा चारैतिर खोज्दा कतै मोटर नभेटिएपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

खेतमा जडान गरिएको वडा-१० का चुल्हाई महतो नुनियाको प्रेमशंकरप्रसाद साहको आँपको बगैँचामा पानी राख्न जडान गरिएको विद्युतीय मोटर पनि चोरी भएको छ । यसैगरी सोही वडाका सक्कलप्रसाद यादव र वडा- ३ का इजहार मियाँको पम्पसेट चोरी भएको छ भने चनरदेव यादवको पम्पसेट चोर्न नसकी सोही स्थानमा पल्टाएर छाडिएको छ ।

त्यस्तै ढोढा महतो कोइरीको पम्पसेट चोर्न नसक्दा पसाहा नदीको नहरमा फालिएको अर्का पीडित किसान सीयारामप्रसाद कुशवाहाले बताए ।

त्यसैगरी धान खेतमा राखेका ध्रुप महतो कोइरी, महागढीमाई नगरपालिका–३ का सुनिल जैसवाल र वडा-४ दहियार टोलका चनरजितप्रसाद यादवको मोटर चोरी भएको छ । उनीहरू दुवै जनाले माछा पालनका लागि पोखरीमा मोटर जडान गरेका थिए । सिँचाइ गर्न खेतमा राखिएको मोटर र पम्पसेट चोरी हुन थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन् ।