नेपाल टेलिकमको आकर्षक प्याकेज : ६ हजारमा दैनिक १० जिबी डाटा

नेपाल टेलिकमको आकर्षक प्याकेज : ६ हजारमा दैनिक १० जिबी डाटा


काठमाडौं ।
नेपाल टेलिकमले सिडीएमए फिक्स्ड सर्भिस अर्थात् सि फोन प्रयोगकर्तालाई फोरजी/एलटिई नेटवर्कमा स्थानान्तरण गर्नका लागि आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ ।

सो प्याकेज आगामी २०८० भदौ १ देखि लागू जनाएको छ ।

सिडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकले टेलिकमको नमस्ते वाइफाइ प्रयोग गर्न सक्नेछन् ।

ती ग्राहकका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियममध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधाका साथै अन्य थप सुविधासमेत उपलब्ध गराउने भएको छ ।

सो सेवा प्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिकअन्तर्गत दैनिकरुपमा ५ एमबिपीएस गतिसम्मको १० जिबी डाटा उपलब्ध हुने छ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ५ हजार ९९९ र वार्षिक अवधिका लागि १० हजार ४९९ शुल्क लाग्ने जनाएको छ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि ४ हजार ९९९ र वार्षिक अवधिका लागि ९ हजार ४९९ शुल्क लाग्ने जनाएको छ ।

त्यसैगरी अनलिमिटेड प्रिमियमअन्तर्गत दैनिकरुपमा १० एमबिपीएस गतिसम्मको १५ जिबी डाटा उपलब्ध हुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ८ हजार ९९९ र वार्षिक अवधिका लागि १६ हजार ४९९ शुल्क लाग्ने छ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि ७ हजार ९९९ र वार्षिक अवधिका लागि १५ हजार ४९९ शुल्क लाग्ने जनाएको छ ।

यी सबै प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी÷एलटीई सीपीईसमेत उपलब्ध गराइने जनाएको छ । नयाँ जडानअन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्कभित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्कभित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुने जनाएको छ ।

यसरी उपलब्ध हुने १० जिबी वा १५ जिबी डाटा सकिएको अवस्थामा उच्च गतिको डाटा चलाउन चाहनेहरुका लागि ५० मा २४ घण्टा समयावधिसम्म चलाउन मिल्ने १० जीबी डाटा एड अन प्याकको रुपमा उपलब्ध हुने जनाइएको छ ।

नेपाल टेलिकमले पहिलेदेखि नै सिडीएमए प्रिपेड वा पोस्टपेड प्रयोगकर्तालाई जीएसएम प्रिपेड वा पोस्टपेडमा रुपान्तर हुँदा ‘सीडीएमए माइग्रेसन प्याकेज’ उपलब्ध गराइरहेको छ । यदि सिडीएमए फिक्स्ड फोन प्रयोगकर्ताहरुले माथिको प्याकेज लिन नचाहेमा सोहीअनुसारको सिडीएमए माइग्रेसन प्याकेज लिन सकिने टेलिकमले जनाएको छ । यस अन्तर्गत प्रिपेड ग्राहकलाई मासिक रुपमा ३०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुनेछ ।

त्यसैगरी पोस्टपेड ग्राहकलाई मासिक रुपमा ४०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ५० मिनेट अफ–नेट भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।