खानेपानी आयोजनाले बनाएको धराप : खानेपानी आउनुअघि नै गाउँ बग्ने चिन्ता

खानेपानी आयोजनाले बनाएको धराप : खानेपानी आउनुअघि नै गाउँ बग्ने चिन्ता


धुलिखेल ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ नाल्दुमस्थित लुवागाउँ फेदीमा सञ्चालित ‘नाल्दुम–नगरकोट लिफ्ट खानेपानी’ आयोजनाका कारण गाउँ नै पहिराको जोखिममा परेको छ ।

आयोजनाको बाँध निर्माणाधीन रहेकाले यस क्षेत्रमा पहिराको जोखिम बढेको भन्दै स्थानीयले पहिरो रोकथामसहित क्षतिपूर्तिको माग गरेका छन् ।

पानी परेसँगै यहाँका पाखो भित्तामा विस्तारै तलबाट पहिरो झरेर खेत र बारीमा धाँजा फाट्दै जानुका साथै कान्लामा पहिरो झर्न थालेपछि स्थानीयले पहिरो रोकथामसहित क्षतिपूर्तिको माग गरेका हुन् ।

मजवा खोलामा आयोजनाले बाँध निर्माणका लागि लुवागाउँको फेदी खनेपछि यसअघि खेती गरिँदै आएको ठाउँमा पहिरो जान थालेको स्थानीय कर्णबहादुर तामाङले बताए । स्थानीयसँग सल्लाह नै नगरी आयोजनाले काम थालेको भन्दै स्थानीयले जग्गा नदिने भन्दाभन्दै पनि आयोजनाले जबर्जस्ती काम थालेको उनले बताए ।

‘विभिन्न बहाना गरेर सहयोग गरिदिने भन्दै फकाएर ठाउँ र पानी दिनका लागि आग्रह गरेको थियो,’ तामाङले भने, ‘हामीले जग्गा नदिने भनेका थियौँ । तर केही गाउँलेले सहमति दिनुभएछ अनि आयोजनाले फेदी खनेको थियो ।अहिले त्यहीँ पहिरो जान थालेको छ ।’ एकातिर बाँधको असर अर्कोतर्फ बाँध निर्माणका लागि खनिएको सडकले गाउँ नजिकैको पाखोबारी तथा खेत सबैमा धाँजा फाटिसकेको उनले बताए ।

समयमा नै पहिरो रोकथाम नगरे गाउँ नै पहिराको जोखिममा पर्ने भन्दै स्थानीयले रोकथामका लागि पहल गर्न माग गरेका छन् । निर्माणस्थलमा पहिरो जान थालेपछि उपभोक्ता समिति र इञ्जिनियर उक्त ठाउँमा नआएको तामाङले बताए ।

स्थानीय रिठबहादुर ढकालले पहिराका कारण ८ रोपनी जग्गा जोखिममा परेको जनाउँदै कमाइ खाने खेत पहिराको जोखिममा परेपछि वडा कार्यालयमा जानकारी गराइसकेको बताए । ‘वडा कार्यालयले लालपूर्जासहित आउनु भने पनि प्रभावित क्षेत्रका स्थानीयले पहिला चासो दिनु भएन् । अहिले समस्या आउन थालेपछि सबैको चासो बढेको छ,’ उनले भने ।

स्थानीय कृष्णबहादुर ताम्राकारले यहाँ भएको खेतबारी पहिरोमा परेपछि खेतीपातीका लागि समस्या भएको बताए । गाउँको पाखो खेतमा धान र मकै सबै पहिराका कारण मासिएको उनको भनाइ थियो ।

‘तलतिरको खेतमा पहिराले झरिसकेको र माथितिर रहेको बारीमा धाँजा फाटिसकेकाले विस्तारै गाउँ नै जोखिममा पर्ने अवस्था छ । यसमा आयोजना र सरकारले समयमा ध्यान दिनुपर्ने देखिन्छ,’ उनले भने ।

देवकुमार रञ्जितकारले आयोजनाको बाँध निर्माण गर्ने ठाउँमा परेको चार रोपनी खेत समितिलाई बेचे पनि पूरा रकम नपाएको बताए । ‘साढे २० लाखमा मोल गरेर ५ लाख रुपैयाँ बैना लिएको हो । बाँकी रकम अलिहेसम्म पाएको छैन,’ उनले भने, ‘यहाँ रहेको बाँकी खेत पनि अहिले पहिराले तानिसक्यो ।’ उनका अनुसार पहिरोले यहाँका ११ स्थानीयको खेतबारीमा क्षति पुर्‍याएको छ ।

खेती गरिरहेको स्थानमा बाँधका लागि खानेपछि पहिराले क्षति पुर्‍याएको भन्दै स्थानीयले क्षतिपूर्तिसँगै तटबन्ध बाँध्नुपर्ने माग गरेका छन् । गाउँमा २६ घरधुरी रहेकामा अधिकांश तामाङ समुदायको बसोबास छ ।

बाग्मती प्रदेश सरकारको २७ करोड ३४ लाख ६४ हजार ९०० रुपैयाँ लागतमा लिफ्ट खानेपानी आयोजना निर्माणको काम अगाडि बढेको आयोजना कार्यालयले जनाएको छ ।

नाल्दुम–नगरकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पहिलो चरणमा १६ करोड ४८ लाख ३४ हजारमा कालिकारदिव्यशक्ति जेभीले आयोजनाको ठेक्का लिएर काम गरिरहेको बताए ।

उनका अनुसार आयोजनाका लागि उपभोक्ता समिति गठन गरेर मुहानस्थलमा जग्गा उपलब्ध गराउन आग्रह गरेपछि समितिको पहलमा आवश्यक व्यवस्थापन गरिएको हो ।

काम गर्दै जाँदा पछिल्लो समयमा निर्माणस्थलमा पहिरो गएर खेतबारी बगाउन थालेकाले स्थानीयले क्षतिपूर्तिको माग गरेपछि समितिले छलफल गरी वडा कार्यालयमा निर्णय पेस गरेको जनाउँदै श्रेष्ठले स्थानीयको जग्गा थप क्षति नहुने गरी संरक्षणका लागि पहल गरिने बताए ।

‘जग्गाको व्यवस्थापन समितिले गर्नुपर्छ । सोहीअनुसार काम गरिरहेका छौँ । स्थानीयको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ,’ उनले भने, ‘पटकपटक माग गर्दासमेत गुरुयोजनाको विवरण उपलब्ध नभएकाले पनि समस्या भएको हो ।’

समितिसँग आर्थिक क्षेत्राधिकार नरहेको भन्दै श्रेष्ठले जग्गा व्यवस्थापन समितिले गरिरहेकाले सम्बन्धित निकायसँग समन्वय गरी स्थानीयलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा पहल गरिरहेको जानकारी दिए । उनले भने, ‘अहिलेका लागि नगरपालिकासँग यस विषयमा छलफल गरिरहेका छौँ । छिट्टै कुनै निर्णय आउने छ ।’

आयोजनाका अनुसार मुहान क्षेत्रमा फिल्टर गर्ने दुइटा ट्यांकीसहित २ लाख लिटर क्षमताको ट्यांकी निर्माण, मेसिन राख्ने र सुरक्षा गार्ड बस्ने घरलगायतका भौतिक संरचना निर्माण भइरहेका छन् ।

त्यस्तै मुहानस्थलबाट करिब ५०० मिटरमाथि २ लाख लिटर क्षमताको ट्यांकी निर्माण भइरहेको छ भने सोही स्थानमा थप संरचना निर्माणको योजना रहेको निर्माण कम्पनीले जनाएको छ ।

२०८१ मा सम्पन्न गरिसक्नुपर्ने उक्त आयोजनाले वडा नंं २ को नाल्दुम र वडा नं १ को माथिल्लो भेग गरी ४८४ घरधुरीलाई खानेपानी पुर्‍याउने योजना छ ।

वडा नं २ का वडाध्यक्ष राजकुमार मल्लले जग्गाको क्षतिपूर्तिका विषयमा आर्थिक सहयोगका लागि वडासँग रकम नभएकाले नगरपालिका र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसमक्ष क्षतिपूर्तिसम्बन्धी प्रस्ताव पेस गरिएको बताए ।

‘उपभोक्ता समितिले दिएको विवरणअनुसार पहिरो रोकथाम गरी गाउँ संरक्षणका लागि निर्माणस्थलमा पर्खाल लगाउने, हालसम्म भएको बाली तथा जग्गाको क्षतिपूर्ति दिनुपर्नेलगायत माग राखेर दुवै कार्यालयमा प्रस्ताव पेस गरेका छौँ,’ उनले भने, ‘यस विषयमा थप छलफल गरी ताकेता गर्नेछौँ ।’