माथिल्लो मैलुङ खोलाको आइपिओमा आवेदन दिने म्याद थप

माथिल्लो मैलुङ खोलाको आइपिओमा आवेदन दिने म्याद थप


काठमाडौं ।

स्थानीयका लागि जारी माथिल्लो मैलुङ खोला जलविद्युतको आइपिओमा आवेदन दिने म्याद फेरि थपिएको छ।

गत साउन ४ गतेदेखि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको थियो।

वैदेशिक रोजगारीमा रहेकालाई गत साउन १८ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। स्थानीयका लागि भने आज भदौ १ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको फेरि भदौ १७ गतेसम्म म्याद थप गरिएको धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो। जसअनुसार १०० अंकित दरका कुल १० लाख कित्ता सेयर स्थानीयका लागि बिक्री खुला गरिएको छ।

स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अतिप्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दालाई बिक्री खुला गरिएको छ।

२ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिएको छ। यी क्षेत्रबाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीयका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर निष्कासन गरिएको छ।

यो आइपिओमा स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यो आइपिओमा स्थानीयले सानिमा क्यापिटल, आयोजनास्थलस्थित कार्यालय र सानिमा बैंकको विदूर शाखा, किस्पाङ शाखा र धुन्चे शाखाबाट आवेदन दिन सक्नेछन्।