सय वर्षमा आयो घरघरमा खानेपानी

सय वर्षमा आयो घरघरमा खानेपानी


गलकोट । 

बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम संकट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ ।

बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर १०० बर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ ।

४ किलोमिटर टाढा छरिखोलागाउँबाट मुलको पानी लिएर १८१ घरमा खानेपानी वितरण भएपछि यहाँका स्थानीयको दैनिकी नै फेरिएको छ ।

३ महिनामा बागलुङ नगरपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र स्थानीय रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साझेदारीमा १ करोड ९ लाख खर्चेर घरघरमा खानेपानीको धारा निर्माण गरिएको स्थानीय मुरारी शर्माले बताए ।

विसं २०५८ बाटै छरिखोलाबाट पानी ल्याउन थाले पनि व्यवस्थित नुहँदा सामुदायिक धाराका कारण खानेपानीको समस्या भएको र अहिले घरघरमै २४सै घन्टा खानेपानीको सुविधा भएको उनको भनाइ छ ।

पटकपटक खानेपानी आयोजना परे पनि व्यवस्थित नहुँदा खानेपानीको दुःख नगएको भन्दै अहिले नेवाको आर्थिक तथा प्राविधिक सहयोग नगरपालिकाको र स्थानीय उपभोक्ताको साझेदारीमा १८१ धारा बनेकामा १७५ घर र छ वटा सार्वजनिकस्थल तथा  विद्यालयलगायतका स्थानमा धारा निर्माण गरिएको हो ।

रातमाटामा खानेपानीको दुःख पहिलेदेखि सुन्दै आएको बताउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले ३ महिनामा १ करोड ९ लाखको आयोजनाको काम सम्पन्न हुनु गौरवको विषय भएको बताए । उनले आफ्नो कार्यकालभित्रै सर्र्भे गरेको योजना यतिछिट्टै सम्पन्न भएर आफ्नै हातले उद्घाटन गर्न पाएकामा नेवालाई धन्यवाद दिए ।

“नेवाको साझेदारीमा एक वर्षभित्रै संकटग्रस्त क्षेत्र लंगाउँमा लिफ्टमार्फत खानेपानी वितरण गरियो, त्यसको एक महिनापछि रातमाटामा १८१ घरमा खानेपानी पु¥याएको छ”, नगरप्रमुख श्रेष्ठले भने, “खानेपानीको दुःख रहेको रातमाटाका घरघरमा धारा बन्दा स्थानीयको दैनिकी फेरिने भयो ।”

नेवाको ६७ लाख ५९ हजार ९ सय ८५, नगरपालिकाको १६ लाख ९३ हजार ७९४, स्थानीय समुदायको नगद ६ लाख ३४ हजार १८३ र स्थानीयको श्रमदान बराबरको १९ लाख ६९ लाख ९ सय १६ गरी १ करोड ९ लाख ७५ हजार ७५७ रकममा उक्त खानेपानी आयोजना निर्माण सुरु भएको  ३ महिनामै सकिएको रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव दिपक शर्माले जानकारी दिए।

शर्माका अनुसार आयोजना सम्पन्न गर्न नेवासँग २०७९ पुस २६ गते सम्झौता भए पनि चैतदेखि निर्माणको काम थालिएकामा निर्माण सुरु भएको तीन महिनामै खानेपानी आयोजनाको काम सकिएको हो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हितनाथ शर्माले चार किलोमिटर मुख्य पाइपलाइनसहित घरमा घारा पु¥याउँदासम्म १८ किलोमिटर पाइपलाइन, तीन वटा इन्टेक, ५ वटा वितरण ट्यांकीमार्फत रातमाटा गाउँका घरघरमा धारा वितरण गरिएको बताए ।

खानेपानीको चरम संकट भएको स्थानमा नेवाले स्थानीय सरकारको नगद साझेदारीमा ‘१ घर, १ धारा’ निर्माण गरिरहेको जनाउँदै नेवा बागलुङका कार्यालय प्रमुख रमेश दाहालले बागलुङको रातमाटासहितका ठाउँमा ५  वर्षमा ५ हजार धारा निर्माण गरिएको बताए ।

विसं २०५८ मा ‘रातमाटाको नारा घरघरमा खानेपानीको धारा’ भन्ने गरिएको अभियान अहिले आएर मात्रै पूरा भएको स्थानीय लक्ष्मी शर्माले जानकारी दिए।