श्रम व्यवस्थापनका काम गर्न पर्यो ? अब विभाग धाउनु पर्दैन, अनलाइनबाटै हुन्छ सबै काम

श्रम व्यवस्थापनका काम गर्न पर्यो ? अब विभाग धाउनु पर्दैन, अनलाइनबाटै हुन्छ सबै काम


काठमाडौं ।

सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरे ।

विभागले उक्त प्रणालीमार्फत विभाग तथा मातहत निकायबाट प्रवाह हुने सेवा अनलाइनबाट प्रदान गर्न थालेको छ । ट्रेड युनियन दर्ता, नवीकरण, नेपालमा काम गर्ने विदेशी श्रमिकको श्रम स्वीकृति, श्रमिक आपूर्तिकर्ताको दर्तारनवीकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेस र प्रतिष्ठान दर्तालगायत सेवा अनलाइनमार्फत गर्न सुरु गरिएको विभागका निर्देशक मणिनाथ गोपले जानकारी दिए ।

विभागमार्फत प्रदान हुने सेवा  http://www.ilmis.dolos.gov.np बाट लिन सकिनेछ । विभागले विदेशी नागरिकको श्रम इजाजत, श्रमिक आपूर्तिकर्ता र ट्रेड युनियनसम्बन्धी कार्य गर्दै आएको छ ।

सूचना व्यवस्थापन प्रणालीबाट विदेशी नागरिकलाई श्रम स्वीकृति प्रदान गर्ने र खारेजी गर्ने, श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र जारी, नवीकरण, सेवा तथा कार्यक्षेत्र परिवर्तन र थपघट, इजाजतपत्र खारेजीलगायतको काम हुनेछ ।

यस्तै श्रम अडिट पेश गर्ने, व्यवसायजन्य दुर्घटनाको विवरण दर्ता, प्रतिष्ठान तथा श्रमिकको तथ्यांक अद्यावधिक, श्रम विवादसम्बन्धी निवेदन दर्ता, ट्रेड युनियन दर्ता तथा नवीकरण, नाम परिवर्तन, खारेजी र विधान संशोधनलगायतको गर्न सकिने छ ।

यसअघि उक्त सेवा विभाग वा मातहतका कार्यालयमा भौतिकरुपमा उपस्थित भएर लिनुपर्ने अवस्था थियो । विभागले भद्रपुर, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, टेकु, पोखरा, बुटवल, नेपागन्ज, सुर्खेत र धनगढीस्थित कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ ।

अनलाइनबाट सेवा प्रवाह हुन थालेपछि सेवाग्राहीलाई विभाग वा कार्यालयमा पटकपटक आइरहनुपर्ने झन्झटबाट मुक्ति मिल्ने, समयको बचत हुने, अभिलेख व्यवस्थित हुने, ‘पेपरलेस र फेसलेस’ सेवा प्रदान, सहजरुपमा तथ्यांक प्राप्त हुने प्रतिष्ठान तथा श्रमिकको तथ्यांक अद्यावधिक हुने विभागका महानिर्देशक केशवप्रसाद विमलीले जानकारी दिए ।

विभागले गत आर्थिक वर्षमा ९७ देशका २ हजार ९ सय ९८ विदेशी नागरिकलाई श्रम इजाजत प्रदान गरेको छ । विभागका अनुसार गत आवमा ५२ वटा श्रमिक आपूर्तिकर्ता इजाजतपत्र प्रदान, ३६१ वटा नवीकरण, २ वटा ट्रेड युनियन महासंघदर्ता, १८ वटा ट्रेड युनियन दर्ता, ६१ वटा ट्रेड युनियन नवीकरणलगायतको काम सम्पन्न गरेको थियो ।