सिटिइभिटीले लियाे राेकिएकाे प्रवेश परीक्षा, ५५१० जनालाई निःशुल्क पढ्ने अवसर

सिटिइभिटीले लियाे राेकिएकाे प्रवेश परीक्षा, ५५१० जनालाई निःशुल्क पढ्ने अवसर

आवासीय सुविधासहितकाे छात्रवृत्तिका लागि फर्म भर्ने म्याद ८ भदाैसम्म


काठमाडाैँ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले शैक्षिक सत्र २०८०/८१ का लागि प्राविधिक शिक्षा अध्ययनका लागि आह्वान गरेको वर्गीकृत निःशुल्क छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षा सञ्चालन गरेको छ ।

सिटिइभिटीबाट सम्बन्धन लिएर सञ्चालन हुँदै आएका शिक्षण संस्थामा प्रि-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन गर्न २० हजार १६६ जनाले आवेदन दिएकामा १८ हजार २५१ जनाले प्रवेश परीक्षा दिएका थिए ।

देशभर विभिन्न ३५ वटा परीक्षा केन्द्र कायम गरी सञ्चालन गरिएको यस प्रवेश परीक्षा शान्तिपूर्ण एवं मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भएको सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रि-डिप्लोमातर्फ २० कार्यक्रम र डिप्लोमा तथा प्रमाणपत्र तहमा ३२ वटा विभिन्न कार्यक्रमका लागि लिइएको परीक्षामा ५ हजार ५१० जनाले निःशुल्क अध्ययन गर्ने अवसर पाउनेछन् । यस कार्यक्रमअन्तर्गत छनोट भएका परीक्षार्थीले अध्ययन अवधिभर शिक्षण संस्थाहरूलाई शिक्षण शुल्कबापत कुनै रकम बुझाउनुपर्ने छैन ।

साउन २० गतै नै तय भएको प्रवेश परीक्षा चिकित्सा शिक्षा आयोगबाट चिकित्सा शिक्षा (स्वास्थ्य समूह) तर्फका कार्यक्रमहरूको कोटा निर्धारण हुन नसकेपछि स्थगित भएकाे थियाे । चिकित्सा शिक्षा आयोगबाट कोटा निर्धारण भएपछि भर्ना प्रक्रिया सुरु गरिएकाे  परिषद्का परीक्षा नियन्त्रक प्रमाेदभक्त आचार्यले जानकारी दिए ।

प्राविधिक शिक्षाका कार्यक्रमहरूलाई समावेशी एवं समतामूलक बनाउने लाने उद्देश्यले महिला. दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र पिछडएको वर्ग र क्षेत्र तथा शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूलाई विशेष अवसर दिने उद्देश्य रहेको उनले बताए ।

यसै कार्यक्रमअन्तर्गत पूर्ण शुल्कीयतर्फका परीक्षामा इन्जिनियरिङ, कृषि र वन, होटल व्यवस्थापनतर्फ भदौ ६ गते र स्वास्थ्यतर्फ भदाै ९ गते शनिबार हुने जानकारी नियन्त्रक आचार्यले दिए ।

आगामी दिनमा समेत नेपाल सरकारको स्वीकृत कार्यक्रमअनुसार परिषद्ले प्राविधिक शिक्षाको संस्थागत पहुँच नपुगेका स्थानीय तहका विद्यार्थी र दलित, मुस्लिम, विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी ६०० जनालाई आवासीय सुविधासहितको विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेकाे छ ।

साे कार्यक्रममा सहभागिताका लागि भदाै ८ गतेसम्म आवेदन दिन सकिने भएकाले समयमै फर्म भरी लाभ लिन सबै लक्षित समूहलाई नियन्त्रक आचार्यले अनुरोध गरेका छन् ।