सधैँकाे पहिराेले लमजुङ र मनाङबासी हैरान, स्थायी समाधानमा छैन चासाे

सधैँकाे पहिराेले लमजुङ र मनाङबासी हैरान, स्थायी समाधानमा छैन चासाे


डुम्रे–बेशीसहर–चामे सडकअन्तर्गत लमजुङको बेशीसहर नगरपालिका–६ खरखरेमा गाडी चालक र यात्रु ढुंगा हटाउँदै ।

लमजुङ ।

अविरलकाे वर्षापछि खसेकाे पहिराेले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, ‘यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्थित तीन ठाउँमा पहिरो गएको छ ।’ उक्त पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उनको भनाइ छ ।

सो स्थानमा ठूला–ठूला ढुंगासहितको पहिराले सडक अवरुद्ध बनाएको छ । केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ ।

सडक अवरुद्ध भएसँगै सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् । यसअघि गत आइतबारसमेत नासों गाउँपालिका–१ तालडाँडामा पहिराेले सडक अवरुद्ध बनाएको थियो ।

त्यस्तै ६ दिनअघिसमेत यस सडकको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो । यसरी पटक–पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङबासीलाई मर्का पर्दै आएको छ ।

सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन् । ६५ किलोमिटर याे सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी छ ।