किसानकाे पीडामा मह्लम लगाउँदै बाग्मती सरकार, ४० हजार पशुमा लम्पी स्किनविरुद्धकाे खाेप

किसानकाे पीडामा मह्लम लगाउँदै बाग्मती सरकार, ४० हजार पशुमा लम्पी स्किनविरुद्धकाे खाेप


काठमाडाैँ ।

बाग्मती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्किनरोग विरुद्धको १ हप्ते खोप अभियानअन्तर्गत खोप लगाइएको प्रदेश सरकारको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खोप अभियानअन्तर्गत चितवन जिल्लामा ९ हजार २५, दोलखामा  २८४, भक्तपुरमा ९२१, ललितपुरमा १ हजार ४३७, मकवानपुरमा ५ हजार ९५६ र धादिङमा ३ हजार ५१० पशुमा लम्पी स्कीनविरुद्धको खोप लगाइएको छ ।

यस्तै सिन्धुलीमा २ हजार ४९०, रामेछापमा १ हजार ९४२, सिन्धुपाल्चोकमा १ हजार ८९९, काभ्रेपलाञ्चोकमा ६ हजार ७७, नुवाकोटमा ३ हजार ३७७ ,  तथा रसुवामा १ हजार १८८ गोरु तथा बाच्छावाच्छीमा लम्पी स्किनविरुद्धको खोप लगाइएको  हो ।

मन्त्रालयका  सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशमा विगत १ वर्षमा लम्पी स्किनबाट ६ हजार २९१ गाईगोरु तथा बाच्छाबाच्छी मरेका छन् भने १ लाख १० हजार ४४० गाई गोरु तथा बाच्छाबाच्छी संक्रमित भएका छन् । प्रदेशका ८ वटा भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रमार्फत खोपकर्ता नियुक्त गरिएको थियो । जसअन्तर्गत १ हजार ४६ जना खोपकर्ताले  १३  जिल्लामा लम्पी स्किनविरुद्ध खोप लगाएका छन् ।

अभियान अन्तर्गत खटिएका प्राविधिकले खोप लगाउनुका साथै पशुचौपायालाई कसरी स्वस्थ्य र सुरक्षित राख्ने विषयमा जानकरीसमेत गराउने गरेको उनले बताए । प्रदेशमा अझै पनि १ लाख ५० हजारभन्दा बढी पशुचौपायालाई खोप लगाउन बाँकी छ । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले सप्ताहव्यापी खोप अभियान सकिए पनि खोप लगाउने अभियान भने जारी रहेको बताए ।

नेपालमा २०७७ साल साउनमा मोरङका पशुचौपायामा उक्त रोगको संक्रमण देखिएको थियो । लम्पी स्किन रोगको संक्रमणबाट ठुलो सङ्ख्यामा पशुचौपाया मरेका छन् भने दूध उत्पादनमासमेत कमी आएको छ ।

गाई गोरु तथा बाच्छाबाच्छीमा उक्त रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध कम दिने,  घाउ खटिरा हुने, आँखा नाकबाट अत्यधिक मात्रमा सिँगान बग्ने, लिम्फनोड सुनिने जस्ता लक्ष्य देखिने गरेका छन् ।