विदेश जाँदै हुनुहुन्छ ? सरकारले नै तिरिदिन्छ अभिमुखीकरण तालिम शुल्क

विदेश जाँदै हुनुहुन्छ ? सरकारले नै तिरिदिन्छ अभिमुखीकरण तालिम शुल्क


काठमाडाैँ ।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेहरूलाई दिने अभिमुखीकरण तालिम प्रभावकारी बनाउने भएको छ ।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जानेहरूले अभिमुखीकरण तालिम लिन अतिआवश्यक रहेको भन्दै प्रभावकारी बनाउने गरी काम थालेको बताएको हो ।

वैदेशिक रोजगारमा जानेहरूलाई राज्यले दिने सेवा सुविधा र रोजगारीका लागि जाने देशका विषयमा जानकारी लिन विभिन्न अभिमुखीकरण तालिम दिने गरिएको छ । बोर्डले पछिल्लो समय अभिमुखीकरण दिने संस्थाहरूले प्रभावकारी रूपमा तालिम दिनुपर्नेमा जोड दिएको छ ।

बोर्डले तालिम केन्द्रहरूको अनुगमनसमेत सुरु गरेको छ । विशेष गरी वैदेशिक रोजगारीमा जानेहरूले मानसिक तयारी, पासपाेर्ट सुरक्षा, बिमा, श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, सम्झौतापत्र, वैदेशिक रोजगार बोर्डअन्तर्गतको कल्याणकारी कोष र वैदेशिक रोजगार बोर्डसँगको सहकार्यको विषयमा तालिम दिने गरेको छ । त्यसका लागि बोर्डले नै शुल्क दिने गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले काठमाडौँका केही तालिम केन्द्रले तालिममा सहभागिता नभएकाहरूलाई पनि तालिम लिएको प्रमाणपत्र दिएको गुनासो आएको बताए । उनले तालिम केन्द्रहरूले अभिमुखीकरण तालिम नलिनेहरूलाई अवैधानिक रूपमा प्रमाणपत्र दिएको भन्ने कुरा आएकाले यसलाई अनुगमन गरी थप व्यवस्थित बनाउन लागिएको बताए ।

तालिममा सहभागी नभएकाहरूलाई समेत प्रमाणपत्र दिने संस्थाहरूलाई अनुगमन गरी कारबाही गरिने भन्दै उनले बोर्डले विगतमा बनाएका मेटेरियलहरू बिक्रीयोग्य नभएको भन्दै कोष परिवर्तन गर्न लागेको पनि जानकारी दिए ।

उनले नेपालमा लिएर गएको तालिमभन्दा फरक तालिम विदेशमा हुने भएकाले नयाँ कोर्स बनेको बताए । वैदेशिक रोजगारीमा जानेहरूले लिने अभिमुखीकरण तालिमलाई अनलाइन र भौतिक दुवै माध्यमबाट बनाउने गरी कार्यविधि परिवर्तन गर्न लागिएको पनि उनले जनाए । यसका लागि कार्यविधि, ऐन, निर्देशिकामा परिवर्तनका लागि पूर्वसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा ९ सदस्यीय समितिसमेत गठन भएको छ ।

वैदेशिक रोजगारमा जानेलाई बिमा गरेर जाने विषयमा समेत थाहा नहुने अवस्था छ । महिला श्रमिकका लागि अभिमुखीकरण तालिमका लागि सरकारले ७०० रुपैयाँ दिन्छ भन्ने कुरा समेत थाहा नभएको अवस्था छ ।

बोर्डले यी र यस्ता विभिन्न विषयमा प्रभावकारी तालिम बनाउने कार्यविधि नै परिवर्तन गरेर जान लागेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले मेनपावरमार्फत वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण तालिमका लागि ७०० रुपैयाँ तिर्ने गरेका छन् ।