गत माघमै सक्नुपर्ने सडक हालसम्म ७० प्रतिशत मात्रै, लागत पनि ११ कराेड बढ्याे

गत माघमै सक्नुपर्ने सडक हालसम्म ७० प्रतिशत मात्रै, लागत पनि ११ कराेड बढ्याे


चितवन ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ ६ लेन सडकखण्डको काम ७० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समय सकिएर थप गरिएको ६ महिना बितिसक्दा पनि हालसम्म ७० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ ।

२०७७ असोज २७ गते सम्झौता भई निर्माण सुरु गरिएको उक्त सडक खण्डको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर साहले जानकारी दिए । उनका अनुसार २०७९ माघसम्ममा काम सम्पन्न गर्ने गरी सम्झौता भएकामा उक्त समयमा निर्माण सम्पन्न नभएपछि आगामी मंसिरसम्मका लागि समय थपिएको छ ।

हालसम्म गोन्द्राङदेखि भरतपुर महानगरपालिकाको गेटअगाडिसम्म पहिलो चरणको काम भइरहेको छ भने लयायन्स चोकदेखि पुलचोकसम्मको काम सम्पन्न भइसकेको छ । सर्भिस लेन र फुटपाथको काम बाँकी रहेको साहले जानकारी दिए । खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको काम गरिरहेकाले फुटपाथको काम गर्न केही समय लाग्ने उनको भनाइ थियो ।

‘एक्सप्रेस लेन ११/११ मिटरको हुनेछ भने फिक्स रोड डिभाइडर ४ मिटर, सर्भिस लेन ५/५ मिटरको रहनेछ । फुटपाथ ३ मिटरको बनाइनेछ’, साहले भने । उनले निर्माण तीव्र गतिमा भइरहेको भन्दै सडक निर्माणका लागि चालु आर्थिक वर्षमा ५ करोड मात्रै रकम  विनियोजन भएको जानकारी दिए ।

६ किलोमिटरको उक्त सडक निर्माणका लागि १ अर्ब १२ करोडमा ठेक्का सम्झौता भएको भए पनि संशोधन भएर १ अर्ब २३ करोड पुगेको छ । सरकारले ठेकेदार कम्पनीलाई समयमा काम सक्न ताकेता दिँदै आए पनि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा समयमा काम सम्पन्न गर्न समस्या भइरहेको इन्जिनियर साहले बताए ।

‘अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत भएको छ । वित्तीय प्रगति ६० प्रतिशत मात्रै छ । काम सक्नका लागि आवश्यक बजेट आउन सकेको छैन’, उनले भने, ‘अहिले विनियोजन गरेको बजेटले पहिला सम्पन्न गरेको कामकोसमेत तिर्न पुग्दैन ।’

भरतपुरको मुख्य सहरी क्षेत्रभित्र पर्ने उक्त  सडक खण्ड निर्माण ढिलो हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् ।