वडाध्यक्षकाे नेतृत्वमा गएका जसपा कार्यकर्ताले कुटे उपमेयर

वडाध्यक्षकाे नेतृत्वमा गएका जसपा कार्यकर्ताले कुटे उपमेयर


बारा ।

बाराकाे पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिबार राति एक समूहले आक्रमण गरेकाे छ । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथि आक्रमण गरेकाे हाे ।

आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाइतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

घरमा बसिरहेका बेला पचरौता नगरपालिका-२ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले उपप्रमुख र परिवारका सदस्यमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणसँगै उक्त समूहले उपप्रमुखको घरमा लुटपाट समेत गरेको स्थानीयले बताएका छन् ।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उपप्रमुखको घरमा पुगेका थिए । प्रहरी घटनास्थल पुग्दा घरका दराज, बाक्सा र सामान फालिएको अवस्थामा थियो । उक्त समूहले यसअघि पनि उपप्रमुखको घरमा आक्रमण गर्दै आएको र प्रहरीमा उजुरी दिँदा दर्ता नगरिएको स्थानीयको भनाइ छ ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाबारे आफूले पनि जानकारी पाएको र प्रहरी परिचालन गरिएको बताए । पुरानो विषयलाई लिएर जसपाका कार्यकर्ताले उपप्रमुखको घरमा गएर कुटपिट गर्दा दोहोरो झडप भएको र झडपका क्रममा दुवै पक्ष घाइते भएको जानकारी आफूले पाएको प्रहरी उपरीक्षक बोगटीको भनाइ छ ।

प्रहरी उपरीक्षक बोगटीले घटनास्थलको स्थिति अहिले सामान्य रहेको र दुवै पक्षका घाइतेको उपचार भइरहेको बताए । बोगटीले थप झडप हुन नदिन प्रहरी परिचालन गरिएको र घटनाको विषयमा आफूले बुझिरहेको बताए ।