अब बालेनले दिन्छन् जागिर ! काठमाडाैँ महानगरमा बसाेबास भएकाे हुनुपर्ने

अब बालेनले दिन्छन् जागिर ! काठमाडाैँ महानगरमा बसाेबास भएकाे हुनुपर्ने


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले एक सूचना जारी गर्दै रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन आग्रह गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा ‘महानगर स्वर्णिम योजना’अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको थियाे । यसै योजनाको कार्यान्वयनका लागि महानगरले श्रम बैंकमा आबद्ध  गराउन लागेकाे महानगरले जनाएकाे छ ।

श्रम बैंकमा आबद्ध भएकामध्येबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने लगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ ।

महानगरपालिका क्षेत्रमा चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले महागरको वेबसाइटमा गएर सूचना र परिपत्र खण्डमा रहेको ‘काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको श्रम बैंकमा आवद्ध हुनेबारेको सूचना’ मा गएर आफ्नो विवरण, आफूले काम गरेको भए अनुभवनको क्षेत्र, आफूले चाहेको कामसम्बन्धी विवरण भर्नुपर्नेछ ।

फाराममा अन्यसहित ६४ प्रकारका काम उल्लेख गरिएको छ । श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँको भए पनि अहिले काठमाडौँमा बसेको हुनुपर्ने छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइनेछ । त्यस्तै स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराइनेछ । यसमा काठमाडौँ महानगरपालिकावासीलाई विशेष प्राथमिकता दिइने महानगरले जनाएको छ ।