नुन गोदामको आडमै फोहोरको डंगुर, अधिकृत भन्छन् -नुनभित्र गन्ध कसरी छिर्छ, नुनको नाक हुँदैन !

नुन गोदामको आडमै फोहोरको डंगुर, अधिकृत भन्छन् -नुनभित्र गन्ध कसरी छिर्छ, नुनको नाक हुँदैन !


भैरहवा ।

सिद्धार्थनगरले बनाएको पर्यटकीय गेट नजिकै नगरको फोहोर डम्पिंग बनेको छ ।

पर्यटकलाई लक्षित गरी सिद्धार्थ गौतमबुद्धको जन्मभूमिमा प्रवेश गरेको अनुभूति दिलाउने भनि बनाइएको सिद्धार्थ राजमार्गमा अवस्थित गेट नजिकै अहिले नगरपालिकाले नै फोहोर व्यवस्थापन गर्ने गरेको छ । नाकाबाट केही दुरी भित्र रहेको प्रवेशद्वार बुद्धत्व झल्कने लक्ष्यले बनाइए पनि अहिले सोही नगरपालिकाले नगरको फोहोर नै गेट नजिकै फाल्दै आएको छ ।

अहिले दैनिकरुपमा सिद्धार्थनगरबाट उत्सर्जन भएको फोहोर नगरपालिकाले गेट नजिकै डण्डा नदीको किनारमा नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । केही समय देखि सिसाको टुक्रा संकलन केन्द्र बनेको सो क्षेत्रमा अहिले सिसासँगै फोहोरको डम्पिंग क्षेत्र बनेको छ ।

गोरखपुरबाट साथीहरुसँग समूह बनाएर आएको प्रमिन्दर पनि फोटो खिच्न भनेर मंगलबार गाडीबाट ओर्ले तर फोहोरको गन्धका कारण उनी केही मिनेटमै गाडी चढी भैरहवातर्फ हानिए । गेट नजिकै पर्यटक रोकुन र केही समय भुलाउन भन्ने नगरपालिकाको मनसायले गेट बनाए पनि अहिले नगरपालिकाले नै पर्यटक भगाउने रणनितिमा लागेको देखिन्छ ।

सिद्धार्थनगर नगरपालिकाले वर्षौ देखि वडा नं. १ डण्डा नदी किनार झण्डी बजार क्षेत्रमा फोहोर फाल्दै आएको थियो । फोहोरले स्थानीय प्रभावित भएसँगै वडा नम्बर १ र २ का बासिन्दाले फोहोरको गाडी प्रवेश नै रोक लगाई विरोधमा उत्रेका थिए । यस अघि पनि स्थानीयले पटक पटक विरोध जनाएकोमा विभिन्न सहमतिमा विगत ३ दशक देखि नियमित रुपमा नगरको फोहोर सोही क्षेत्रमा व्यवस्थापन हुदै आएको थियो । अहिले स्थानीयले गरेको विरोधसँगै नगरपालिकाले फोहोर डम्पिंग क्षेत्रको स्थान नै परिवर्तन गरेको छ ।

सिद्धार्थनगर नगरपालिकाका फोहोर व्यवस्थापन प्रमुख अधिकृत केशव पौडेलले पुरानो ठाउमा स्थानीयले गरेको अवरोधका कारण साउन ४ गतेबाट सिद्धार्थ राजमार्ग नजिक पर्यटकीय गेटको पश्चिम तर्फ नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको बताए । अहिले नगर क्षेत्रबाट संकलन भएको फोहोर गेट नजिकैको क्षेत्रमा टयाक्टरमार्फत पठाउने, खाल्डोमा फोहार राखी सम्याउने र माटो पुर्ने गरी फोहोर व्यवस्थापन गरिरहेको बताए ।

सार्वजनिक जग्गा हो भन्ने सुन्नमा आएको डम्पिंग क्षेत्रमा गन्ध नआओस भन्नका लागि मट्टितेल, फिनेल र इमो झोल दैनिक रुपमा हाल्ने गरेको बताए । पहिलाको ठाँउमा स्थानीयले अवरोध गरी फाल्न नदिएपछि अहिले यो क्षेत्रमा फोहोर व्यवस्थापन हुदै आएको अधिकृत पौडेलले भने ।

पौडेलका अनुसार सिद्धार्थनगरमा दैनिक ३० टनको हराहारीमा फोहोर उत्सर्जन भई नगरपालिकाले करिब सय जना जनशक्ति लगाएर १२ वटा टयाक्टर, ठेला र कुचीकारहरुबाट फोहोर संकलन गर्ने गरेको छ ।

सिद्धार्थनगर नगरपालिका -१ का अध्यक्ष उज्जवल पोखरेलले गेट नजिकै को सो क्षेत्रमा पहिला देखिनै सिसाको कवाड (फोहोर) संकलन गरी वातावरण नै प्रभावित बनेकोले पटक पटक हटाउने प्रयास गरेपनि नमानेपछि रिसीबीको कारण जरिवाना स्वरुप नगरको फोहोर सोही क्षेत्रमा फाल्न दिएको बताए । वर्षौ देखि नगरको फोहोर १ वडा मै फलिरहेको छ, झण्डी बजार होस या पर्यटकीय गेट नजिकै । फोहोरको कारण स्थानीय नैडिहवा र हर्नैया क्षेत्रको नागरिकमा असर परेको क्षेत्रमा अहिले नगरपालिकाले स्वास्थ्य विमाको लागि बजेट छुटयाएको बताए ।

गेट नजिकै रहेको निजि जग्गा लिजमा लिई सिसा कवाडको काम गर्दै आएका राम प्रसाद पन्तले नगरपालिकाले फालेको फोहोरको कारण काम गर्न सकिने अवस्था नभएकोले काम नै बन्द गरेको बताए । तत्काल १०–२० दिनको लागि भनि नगरपालिकाले यहाँ नजिकै नदी किनारमा फोहोर फाल्ने भने पनि महिना दिन भयो लगातार रुपमा फोहोर फाल्दै आएको छ, गन्ध र प्रदुषणले आजित भएकोले अहिले काम नै बन्द गरेको उनले भने । ‘एकातर्फ नगरपालिकाले प्रति किलो १० पैसा करबाट दश गुणा बढाएर प्रति किलो एक रुपैया पुरयाएको छ भने अर्कोतर्फ काम गर्ने वातावरण नै छैन,’ पन्तले भने, ‘यस क्षेत्रको सिसाको कवाड पूर्ण रुपमा भारत नै जान्छ अन्त मार्केट छैन, मैले पनि लिजमा लिएर काम गर्दै आएकोले जग्गाधनिलाई काम गर्न सकिने अवस्था नभएको जानकारी गराउदै काम बन्द गरेको छु ।’

उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने नुन फोहोर फालेको केही दुरीमै भण्डारण गरि राखिएको छ । खुला रुपमा फालिएको असर नैडिहवा गाँउसम्म परेपनि नजिकै रहेको नुनमा भने यस्को असर पक्कै परेको छ । उपभोक्ताको स्वास्थ्य प्रत्यक्ष असर पर्ने गरि नुन भण्डारण समेत सो क्षेत्रमा गर्दा उच्च जोखिम छ ।

साल्ट टेड्रिङ कर्पोरेशनका सहायक महा प्रबन्धक हरि चन्द्र श्रेष्ठले गेट नजिकै साल्ट ट्रेडिङले नुन भण्डारण गर्दै आएको बताए । विक्री वितरण नगरेर संचिति गर्नका लागि हामीले त्रिपालले ढाकेर नुन राख्ने गरेका छौ, त्यस्तो ठाँउमा नगरपालिकाले फोहोर व्यवस्थापन नगर्नु पर्ने बताए । हामीले सुरक्षित रुपमा राखेपनि नगरपालिकाले यस विषयमा सोच्नु पर्ने बताए, जनताको स्वास्थ्यसँग खेलवाड हुने काम नगरपालिकाले गर्न नहुने उनले भने ।

नौडिहवाका स्थानीय सन्दिपले फोहोर फाल्न लागे देखि दुर्गन्धले गेट नजिक जाने स्थिती छैन । त्यहाँ मात्रै होइन हावा चल्दा यस्को असर गाँउ सम्म पनि आउने गरेको छ, वर्षाको समय छ यसले महामारी फैलाउने जोखिम पनि छ, नगरपालिकाले तत्काल यस्को समाधान गरी बस्तीबाट टाढा व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । यसले आउने पर्यटकमा पहिलो इम्प्रेसनमै गलत म्यासेज जाने बताए ।

सिद्धार्थ राजमार्ग र डण्डा नदीको पुलसँगै रहेको सो फोहोर फालेको क्षेत्र नजिकै सशस्त्र प्रहरीको पनि युनिट छ । गन्धको असर राजमार्ग आवगमान गर्नेलाई परेपनि सधै चेकजाँचमा खटेका सुरक्षाकर्मीलाई पनि पर्ने गरेको छ । एक सुरक्षाकर्मीले भने ‘हामीलाई त सिद्धार्थनगरको फोहोरले पिछा छोड्ने भएन गणमा हुदा उता फोहोरले सास्ती भोगेका थियौ, अहिले यहाँ पनि सोही समस्या रहेको छ’

नौडिहवा टोल सुधार समितिका कोषाध्यक्ष ज्ञासु पठानले घाट जाने बाटो व्यवस्थापन गर्ने, मन्दिर, धर्मशाला र पोखरीलाई व्यवस्थापन गरिदिने मौखिक छलफल नगरपालिकालदे गर्ने भएपछि फोहोर फाल्ने सम्झौता भएको जानकारी दिए । ‘फोहोरले स्वास्थ्यमा समस्या देखिने भएपनि अहिले खासै समस्या भने नरहेको, फोहोर हो हल्का त गन्ध आइहाल्छ,’ कोषाध्यक्ष पठानले भने ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयालले सिद्धार्थनगरको फोहोर मैला व्यवस्थापनको दीर्घकालिन समाधानका लागि प्रयासरत रहेको बताए । छिमेकी पालिकाको सहकार्यमा सम्झौताको क्रममा रहेको छ, एसियाली विकास बैंकले २०२४ मा नेपालभरिका लागि फोहोरमैला व्यवस्थापन परियोजना ल्याउदै छ ५० करोडको लगानीमा एडिबीले बनाउने भनेर अनौपचरिक रुपमा छलफल भइसकेको छ, जग्गा छनोट र डिपीआर लगायतको काममा केही समय लाग्ने बताए ।

तत्कालका लागि हाल सिद्धार्थनगर १ मा फोहोरमैला व्यवस्थापन भइरहेको छ, २४ घण्टा जेसिभी राखेर फोहोर माटोले पुर्ने र गन्ध व्यवस्थापनका लागि मट्टीतेल छर्कने काम निरन्तर भइरहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले दाबी गरे । सार्वजनिक जग्गा हो केही खाल्टो पनि छ, पुरेर भोलिका दिनमा बगैचा बनाउने योजना समेत रहेको बताए । नुन भण्डारण नजिकै फोहोर फालिएको विषयमा स्वास्थ्यमा असर गर्छ भन्ने प्रश्नमा उनले भने ‘नुन केमिकल बस्तु हो केमिकललाई गन्धले के असर गर्छ र ? नुन भित्र गन्ध कसरी छिर्छ नुनको नाक हुदैन भन्ने जवाफ दिए ।