८ सय कृषि फार्मलाई झण्डै १६ करोड अनुदान

८ सय कृषि फार्मलाई झण्डै १६ करोड अनुदान


गण्डकी ।

व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ ।

गत आवमा पशुपक्षीतर्फ ४८१ र कृषितर्फ ३७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन् ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेका अनुसार पशुपक्षीपालक किसानलाई ७ करोड ८६ लाख र व्यावसायिक कृषिखेती गर्ने किसानलाई ८ करोड अनुदान रकम उपलब्ध गराइएको छ ।

मन्त्रालयमार्फत कृषि अनुदान तथा प्रोत्साहनमा बर्सेनि बजेटको ठूलो हिस्सा खर्च हुने गर्छ । कृषि अनुदानको दुरुपयोग बढेपछि पछिल्लो समय उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न थालिएको छ । वास्तविक व्यावसायिक पहिचान गरी प्रोत्साहन रकम उपलब्ध गराइने प्रमुख डा न्यौपानेले बताए ।

गत आवमा विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ५३० परिवारलाई जीविकोपार्जनमा सहयोग गरिएको थियो । विपन्न घरपरिवारका लागि बाख्रापालन, भकारो सुधारलगायत कार्यक्रममा सहयोग प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ‘ब्लक’ विकास कार्यक्रममा ७ करोड १३ खर्च भएको उनले बताए ।

मन्त्रालयले गत आवमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषिगाउँ, तरकारी खेतीका लागि प्रोत्साहन, बाँझो जग्गामा खेती प्रवर्द्धन, बिज वृद्धि, रैथाने बाली संरक्षण, कृषि उद्यम विकासलगायतका कार्यक्रम सञ्चालन गरेको थियो ।

यी कार्यक्रमले चालु आवमा पनि निरन्तरता पाउने मन्त्रालयले जनाएको छ । मन्त्रालययले गत आवमा प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तारका लागि पनि किसानलाई अनुदान दिएको थियो ।

मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी ५७२ रोपनी क्षेत्रमा स्याउखेती विस्तार भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट ३९२ र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत १८० रोपनी क्षेत्रफलमा स्याउखेती विस्तार भएको हो । गत आवमा स्याउखेती विस्तारतर्फ ११ करोड ५० लाख र शितोष्ण फलफूल विस्तारमा ६ करोड बजेट खर्च भएको निर्देशनालयले जनाएको छ ।