बर्दिबासको ‘मरुभूमि’मा मन बहलाउने हरित पार्क

बर्दिबासको ‘मरुभूमि’मा मन बहलाउने हरित पार्क


बर्दिबास ।

वरपर क्रसरले मरुभूमि बनाएका फाँट छन् । कतै माटो तथा बालुवा उत्खनन गर्दा बेनेका गहिरा खाल्डा देखिन्छन् त कतै गिटी र बालुवाकाे पहाड ।

वर्षायाममा पनि धुलोको कुहिरीमण्डलले यही बाटो भएर बर्दिबासबाट दक्षिणतर्फ जाने यात्रुले मुख छोप्नैपर्ने बाध्यता छ ।

तर, आजकल यो विरक्तलाग्दो वातावरणीय दुर्दशाका भुक्तभोगी मात्र हाेइन, बाहिरबाट आएका व्यक्तिहरूसमेत एकैछिन भए पनि यो ठाउँमा अडिन थालेका छन् ।

कारण हो- रातु मित्रपार्क । रातु नदीको किनारमा लगाइएका सयौँ जातका बिरुवाले अहिले हरियाली छरेकाे छ । रोटरी क्लब अफ बर्दिबासले झन्डै ८ बिघा क्षेत्रफलमा हरित पार्क बनाउने उद्देश्यले लगाएको झन्डै २६ सयभन्दा बढी बिरुवा हुर्केसँगै रातु नदीको तटीय क्षेत्र हराभरा बनेको छ ।

वर्ष दिनअघिसम्म बालुवा नै बालुवाका कारण उराँठलाग्दो मरुभूमि देखिने याे ठाउँ हरित सौन्दर्यमा परिणत भएसँगै स्थानीय र यात्रुहरूलाई एकैछिन भए पनि स्वच्छ अक्सिजन लिन सकिने विश्रामस्थल बनेको स्थानीय बताउँछन् ।

पूर्व रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष विष्णु खड्काको नेतृत्वमा झन्डै १ करोड २५ लाख रुपैयाँ लगानीमा निर्माण भएको उक्त हरित पार्कको नतिजा देखिन थालेको छ ।

त्यसो त अहिलेका अध्यक्ष कृष्ण गौतमले पनि उक्त मित्रपार्कको सौन्दर्यकरणमा निक्कै मिहिनेत गरेका छन् । ड्यामको माथिपट्टिबाट सुन्दर बाटो बनाइएको छ भने घामले बिरुवा नसुकून् भनेर पानीको व्यवस्था गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।

चारैतिर पर्खाल घेरेर बनाइएको उक्त हरित पार्कले आकार लिएसँगै अवलोकन गर्नेहरूको संख्यासमेत बढिरहेको छ ।

रातु मित्रपार्क मात्र हाेइन, रोटरी क्लबले बर्दिबासलाई हरित सहरका रूपमा विकास गर्ने अवधारणा नै अगाडि बढाएको अध्यक्ष गौतम बताउँछ्न् ।

अहिलेसम्म झन्डै ५ हजार बिरुवा रोपेको बताउँदै अध्यक्ष गौतमले मुख्य सडकको बीचमा पनि रोटरीले हरितयुक्त सौन्दर्यमा जोड दिएको बताए ।

बर्दिबास चोकको पूर्व-पश्चिम राजमार्गमा देखिने हरियाली रोटरी क्लबको नै देन हो । नदीका किनारहरूमा क्रसर व्यवसायीहरूका कारण नदी उकास जग्गासमेत अतिक्रमण भइरहेको जनगुनासो बढिरहेका बेला रोटरी क्लबले नदी उकास जग्गालाई हरित पार्क बनाएपछि चर्चा सुरु भएको छ ।

पछिल्लो समय होटल हबका रूपमा विकास भएको बर्दिबासमा आउने आन्तरिक र बाह्य पर्यटकका लागिसमेत यो हरित पार्क निकै उपयोगी सावित भएको होटल व्यवसायीहरू बताउँछन् ।