पहिरोले कान्तिलोक पथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध

पहिरोले कान्तिलोक पथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध


मकवानपुर ।

कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।

मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पहिरो गएको स्थान मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्दछ ।

यसैगरी त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानी सडकखण्डमा यातायात सञ्चालन भइरहेको प्रवक्ता कार्कीले बताए ।

यस्तै ओखलढुङ्गाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।

बिहीबारदेखिको अबिरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको जानकारी दिए ।

सडक अवरुद्ध भएपछि ओखलढुङ्गा र सोलुखुम्बुबाट राजधानी काठमाडौं र तराईका जिल्लाका लागि छुटेका सवारी ओखलढुङ्गाको मिलनचोक रमाइलोडाँडा क्षेत्रमै रोकिएका छन् ।

निरन्तरकोे वर्षाका कारण जिल्लाभरका ग्रामीण सडकमा पहिराको जोखिम बढेको छ । अधिकांश सडक अवरुद्ध छन्।