नाम ढाँटेर गाउँपालिका अध्यक्ष जुवाखालमा छिरेपछि…

नाम ढाँटेर गाउँपालिका अध्यक्ष जुवाखालमा छिरेपछि…


काठमाडाैँ ।

नेपालमा जुवातास खेल्नु कानुनी अपराध हाे । जुवातास खेलेकाे पाइएमा कडा कारबाहीकाे व्यवस्था छ ।

बेलाबेला नेपालीहरू जुवातास खेलेकाे आराेपमा पक्राउ पर्दै आएका समाचार बाहिरिने गरेकाे छ । नेपालमा सञ्चालित क्यासिनाेबाट पनि कहिलेकाहीँ नेपाली नागरिक पक्राउ परेका समाचार आउने गरेकाे पाइएकाे छ ।

तर, स्थानीय सरकार भनिने पालिका प्रमुख नै जुवाघरबाट समातिए । आफ्नाे नाम ढाटेर जुवाघर छिरेका गाउँपालिका अध्यक्ष बिहीबार साँझ पाेखरास्थित जुवाखालबाट पक्राउ परेका हुन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित होटल लक्ष्मीमा जुवा खेल्दै गरेकाे अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीले उनीसहित ७ जनालाई पक्राउ गरेको थियो । लालचन नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् ।

उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

अध्यक्ष लालचनले आफ्नो नाम ढाँटेर मोहन थकाली भनेका थिए । पक्राउ पर्ने अन्यमा मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् ।

उनीहरूलाई म्याद थप गरी थप अनुसन्धानकाे तयारी गरिएकाे छ ।

काे हुन् लालचन ?

गत वर्षकाे वैशाखमा भएकाे स्थानीय तहकाे निर्वाचनमा मुस्ताङको सदरमुकामसमेत रहेको घरपझोङ गाउँपालिकामा एमालेका सञ्जयकुमार थकालीलाई हराउँदै लालचन अध्यक्ष निर्वाचित भएका हुन् । थकालीलाई उनले मात्र २ मतको अन्तररले हराएका थिए ।

कांग्रेस उम्मेदवार लालचनले ७६० मत ल्याउँदा एमालेका थकालीले ७५८ मत मात्रै ल्याएका थिए ।

उनी हाेटल व्यवसायमा संलग्न छन् भने मुस्ताङमा उनी समाजसेवीका रूपमा पनि चिनिन्छन् । उनले मुस्ताङको मार्फा र पोखरामा होटल व्यवसाय सञ्चालन गरेका छन् ।

साथै मुस्ताङमा वृक्षरोपण तथा गुम्बा निर्माण र सरसफाइको  क्षेत्रमा काम गर्दै आएका छन् । उनी यसअघि २८ वर्ष जापान बसेर फर्किएका हुन् ।

जापानबाट फर्कंदा उनी समाजसेवी बन्ने भन्दै आएका थिए । तर नेपाल फर्किएपछि स्थानीय तहमा आएकाे बजेट र त्यहाँकाे हालीमुहालीले उनलाई राजनीतितिर तान्याे । त्यसपछि नेपाली कांग्रेसकाे पछि लागेर टिकट लिइछाडे र चुनाव पनि जिते ।

चुनाव जितेलगत्तै उनले आफू राज्यको सेवा सुविधा र प्रलोभनमा परेर अध्यक्ष बनेको नभई जनताको सेवक भएर काम गर्न जनताले अनुमोदित गरेको बताएका थिए । आफू पनि भ्रष्ट्राचार नगर्ने र अरूलाई पनि भष्ट्राचार गर्न नदिने उनकाे भनाइ थियाे ।

जापानकाे संस्कार पालिकामा विकास गर्छु भनेर लागेका लालचन अन्ततः जुवाखालबाट पक्राउ परी प्रहरी हिरासतमा पुगे ।