याे हाे नेपालको सबैभन्दा महँगो पुल

याे हाे नेपालको सबैभन्दा महँगो पुल

सुनिल उलक
576
Shares

२०१६ सालमा नै कर्णाली परियोजनासम्बन्धी आन्तरिक रूपमा तयारी सुरु भयो । कर्णाली नदीमा ठुलो जलविद्युत आयोजनाको खाका बुनियो ।

२०१७ वैशाख १५ देखि १८ गतेसम्म भएको राजा महेन्द्रको अमेरिका भ्रमणमा पश्चिम नेपालको बृहत्तर विकासको साथै नेपालको पनि हितका लागि कर्णाली बहुउद्देश्यीय परियोजना विषयमा पनि छलफल भएको थियो ।

विश्व बैंक र युएनडिपी यस कार्यको तयारीमा जुटे । विभिन्न छलफलकै क्रममा राजा महेन्द्रको देहावसानले परियोजनाका कुरा गफै मात्र भयो ।
पूर्वी नेपालको कोसी तथा गण्डकीमा आफ्नो योजनाअनुसार हात पारिसकेको भारतको विशेष चासो पश्चिम नेपालको सबैभन्दा ठुलो नदी कर्णालीमा पनि पर्‍यो । २०३४ सालको मंसिरको अन्तिम सप्ताह भारतीय प्रधानमन्त्री मोरारजी देसाईको नेपाल भ्रमणको समय कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनामा भारतले चासो राख्यो । जसअनुसार १० हजार ८०० मेगावाट विद्युत् तथा ३६ लाख हेक्टर जमिनमा सिँचाइ गर्ने योजना बन्यो ।

जसमा केवल २ लाख हेक्टर जमिन नेपालमा सिँचाइ उपलब्ध हुने भनिएको थियो । यसका लागि ५ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । यसपछि पनि विभिन्न चरणमा विभिन्न छलफल भए । तर, यो त्यसै सेलायो । पश्चिम नेपालको मात्र नभई सिंगो नेपालको नै पहिचान हुन सक्ने यो विशाल परियोजना विश्व बैंक र भारतबीचको स्वार्थको लडाइँले पूरा हुन नै दिइएन ।

पूर्व–पश्चिम राजमार्गले देशलाई छिचोल्न थाले पनि कर्णालीमा पुल नहुँदा फेरीबाट तर्नुपर्ने बाध्यता भयो । कर्णालीमा पुल नहुँदा निकै समस्या पर्न थालेको थियो । कर्णाली नदी चिसापानीमा पहाड छिचोलेर तराई प्रवेश गर्ने बिन्दुका रूपमा थियो ।

झट्ट हेर्दा तराई भूभागझैँ लागे पनि यहाँको मौसम चिसो र पानी पनि चिसो हुने हुँदा यो ठाउँको नाम नै चिसापानी रहेको थियो । चिसापानीको पनि आफ्नै किंवदन्ती गाँसिएको छ ।

कुनै बेलाका जुम्लाका राजाले आफ्नी प्यारी राजकुमारीको विवाह तराईका राजकुमारसँग गराउने पक्का गरेछन् । तर, जुम्लाको चिसो मौसममा हुर्केकी आफ्नो छोरी अचानक विवाहपछि तराईको प्रचण्ड गर्मीमा बस्न कठिन हुने भन्दै राजारानीलाई ठुलो चिन्ता लाग्न थालेछ ।

निकै सोचविचारपछि राजाले दरबारमा ठुलो सभा बोलाएछन् । सभामा राजाले राजकुमारीको विवाह तराईमा हुन लागेको तथा त्यहाँको गर्मीले जुम्लाको चिसो मौसममा हुर्किएकी राजकुमारी आत्तिन सक्ने हुँदा तराईमा राजकुमारीलाई बस्न सहज गराउन के गर्न सकिन्छ भन्ने सल्लाह मागे ।

धेरैका धेरै विचार आए । राजाले सभामा धामीलाई पनि बोलाएका थिए । विभिन्न किसिमका विचार विमर्श भइरहँदा राजाले धामीलाई मन्त्रले फुकेर दूध भर्ने बाँसको गाबुमा जुम्लाको चिसो हावा राखिदिन आग्रह गरे ।

नभन्दै धामीले आफ्नो मन्त्रको शक्तिले जुम्लाको चिसो हावालाई गाबुमा राखेर बिर्को बन्द गरेर राजालाई दिए । राजा तथा रानीले राजकुमारीलाई सो गाबु दाइजोका रूपमा छोरीको घर पठाउने विचार गरे । जसै छोरीको विवाहपछि राजकुमारसँग घर फर्कने बेला आयो, राजारानीले छोरीलाई माइतको कोसेली भन्दै गाबु पतिको घर नपुग्दासम्म नखोल्न भनेर दिइपठाए ।

माइतबाट निस्कँदादेखि नै राजकुमारीलाई खुलदुली भइरह्यो । आमाबुबाले गाबुमा के दिएर पठाएका रहेछन् भनेर हेर्न आतुर भइरह्यो । कर्णाली नदीमा डुंगाको यात्रा क्रममा जब बुङघाटमा राजकुमार र राजकुमारी पुगे । राजकुमारीलले मन थाम्न सकिनन् र गाबुको ढक्कन खोलेर हेर्न चाहिन् ।

जसै राजकुमारीले गाबुको ढक्कन खोलिन् । मन्त्रको शक्तिले कोच्चिएको चिसो हावा एकैचोटी डरलाग्दोसँग बाहिरियो । हावाको बेगले ठुलो आँधी चल्यो । कर्णालीमा बाढी आयो । राजकुमार र राजकुमारी चढेको डुंगा बेतोडसँग पल्टियो ।

राजकुमारलाई कर्णालीको बेतोडको पानीले हुत्याएर लग्यो । त्यसपछि ठुलो ढुंगामा ठोक्किएर राजकुमारको देहान्त भयो । राजकुमारीलाई पनि हुत्याएर अझ पर लग्यो । अर्को केही सानो ढुंगामा ठोक्किएर राजकुमारीको पनि प्राण गयो ।

दुवै राजकुमार र राजकुमारीको देह ढुंगा भएर कर्णाली किनारमा रहन पुग्यो । ढुंगाका रूपमा रहेका राजकुमार र राजकुमारीलाई अझै पनि चिसापानीबासीले बिर्सन सकेका छैनन् । कर्णाली किनारमा अझै पनि ती ढुंगाको स्वरुपमा रहेका राजकुमार र राजकुमारीलाई देख्न सकिन्छ ।

यही कर्णालीको चिसापानी जहाँ कुनैबेला राजकुमार र राजकुमारीको मृत्यु भएको किंवदन्ती प्रख्यात छ, त्यहीँ नजिकै महेन्द्र राजमार्गको सबैभन्दा आकर्षक पुल छ । नेपालको सुदूरपश्चिम क्षेत्रलाई नेपालको अन्य भागसँग जोड्ने यो पुलको निर्माण २०५० मंसिर २८ गते सम्पन्न भएको थियो ।

नेपालको सबैभन्दा लामो पुलमध्येको यो एक हो । यस पुलको बीचमा ठुलो खम्बा ठडिएको छ, जसमा स्टिलका तारहरू बाँधेर अड्याइएको छ । यो ५०० मिटर लामो तथा ११.३ मिटर चौडा पुलको दायाँबायाँ मानिस हिँड्ने पेटी पनि बनाइएको छ ।

यस पुललाई १२० मिटर अग्लो खम्बाले एक भागतिर ३२५ मिटर र अर्को भागतिर १७५ मिटरले छुट्याएको छ । यसको निर्माणमा ३ हजार ८७० टन स्टिल प्रयोग गरिएको थियो । जापानको प्रख्यात कम्पनी कावासाकी हेवी इन्डस्ट्रिजले तयार गरेको यो पुल नेपालको एक नमुना पुल हो ।

अमेरिकाको स्टेनम्यान ब्योन्टोन ग्रोनक्विस्ट एन्ड बर्डसल इन्जिनियरिङ कम्पनीको डिजाइनमा बनेको यो झोलुंगे पुललाई दुवैतर्फ ३०–३० वटा मोटा तारका लट्ठाले अड्याइएको छ । पूर्ण रूपमा ज्यामितीय सूत्रमा बनाइएको यस पुलमा प्रत्येक लट्ठाको भार क्षमता अलग अलग छ ।

स्टिलले बनेको ट्रस्टमा ९ इन्च मोटो सिमेन्टका कंक्रिट स्लाब राखिएको छ । ७ मिमी मोटा तारका गुजुल्टाले बनेका ३० वटा लट्ठामा तारको संख्या सबैमा भिन्नभिन्न राखिएका छन् । सबैभन्दा छेउका लट्ठा सबैभन्दा मोटा छन् भने बीचका मसिना छन् ।

त्यतिबेला अर्थात् २०४० सालमा करिब २३ करोड ६४ लाख रुपैयाँ (१ करोड ५८ लाख डलर)को योजना बनेको सो पुल देशकै सुन्दर र महँगो पुलमा परेको थियो । विश्व बैंकको सहयोगमा बनेको यस पुलको सम्पूर्ण नक्सा अमेरिकी इन्जिनियरिङ कम्पनीले बनाएको थियो भने निर्माणको काम जापानको कावासाकी हेवी ल्याब्सले गरेको थियो ।