आइपिओ जारी गर्दै सेती नदी जलविद्युत्

आइपिओ जारी गर्दै सेती नदी जलविद्युत्


कास्की ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ जारी गर्ने भएको छ ।

सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनीले यही भदौ १९ गतेदेखि आइपिओ जारी गर्नका लागि सार्वजनिक सूचना निकालेको हो ।

आयोजनाको प्रभावित क्षेत्रका रूपमा रहेका माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं १९ का स्थानीय बासिन्दाले कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् ।

भिजन लुम्बिनीले आफ्नो जारी पुँजी १ अर्ब ९१ करोड २५ लाखको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार बराबरको १९ लाख १२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो ।

सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशतले एक लाख ९१ हजार दुई सय ५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गरिने छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम्मा ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम् १९ हजार १२० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा असोज २ गते र ढिलोमा असोज १७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने असोज २ गतेभित्र आवेदन दिनुपर्ने बताइएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।