सरकारले युवालाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनु पर्छ : नेता सिंह

सरकारले युवालाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनु पर्छ : नेता सिंह


काठमाडौँ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदले ३ तहको सरकारलाई सुचारु रुपमा सञ्चालन गराउनका लागि आवश्यक संघीय कानुन बनाउन नसकेको बताएका छन् ।

आइतबार नेपालको प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संघले आवश्यक कानुन निर्माण गर्ने हो भने स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाही अघि बढाउन सक्ने उल्लेख गरे । उनले पछिल्लो समय युवाहरू देश छाडेर पलायन भइरहेकोबारे चिन्ता व्यक्त गर्दै सरकारले युवालाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताए । उनले सरकार र सबै राजनीतिक दलहरूले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने बताए ।

उनले भने, ‘लाखौँ संख्यामा युवाहरू कामको खोजीमा बिदेसिएका छन्, अहिले त यहाँ व्यवसाय गरेर खाइरहेका पनि विदेश जाँदै छन् । अहिले सरकारले सबै दलले ध्यान दिएर देशमै बसेर गरिखाने वातावरण नीति बनाइदिनुपर्छ । सबैलाई यहीँ काम गर्ने वातावरण बनाउनुपर्छ । कानुनको राज हुनुपर्छ ।’

कोसी प्रदेशमा भइरहेको आन्दोलनबारे नेता सिंहले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश भएको उल्लेख गर्दै सबैले बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश मानिसकेपछि कानुनभित्र बसेर सबैले काम गर्नुपर्ने बताए । उनले एकअर्काबीच हुने मनमुटावलाई सरकारले समाधान गरेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘संविधान बनाउँदा नै हामीले भनेका छौँ । यो बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश हो भनेर मानेका छौँ । त्यो मानिसकेपछि कानुनभित्र बसेर काम गर्नुपर्छ, त्यो बिथोलिए सरकारले समाधान गर्नुपर्छ । धर्मलाई राजनीतिसँग जोड्नु हुँदैन । काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ, देशको धर्म हुँदैन तर व्यक्तिको आस्थाअनुसार हुन्छ । नेपाल सबैका लागि हो, सबै सहअस्तित्वमा सद्भाव गरेर अर्को धर्मलाई आँच नआउने गरी काम गर्नुपर्छ । सामाजिक सद्भावलाई खलबल गर्नु हुँदैन ।’

नेता सिंहले नेपाल सबैका लागि भएकाले धर्मलाई राजनीतिसँग नजोडिकन सहअस्तित्वमा सद्भाव कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।