ललिता निवास प्रकरणमा संलग्न थप २९० जनाविरुद्ध ‘लिखत किर्ते’ मुद्दा दर्ता

ललिता निवास प्रकरणमा संलग्न थप २९० जनाविरुद्ध ‘लिखत किर्ते’ मुद्दा दर्ता


काठमाडौं ।

बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा हिनामिना प्रकरणमा संलग्न विरुद्ध अदालतमा अभियोगपत्र दायर गरिएको छ ।

जिल्ला अदालत काठमाडौँमा २९० जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुखले बताएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रसँगै थुनामा रहेका १८ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराएको छ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ५७ दिनसम्म ‘संगठित किर्ते’ कसुरमा अनुसन्धान गरेर सोही कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, ललिता निवासमा ‘संगठित कसुर’ आकर्षित नहुने भन्दे सरकारी वकिलले ‘लिखत किर्ते’मा मात्रै सजाय र जरिवाना हुनुपर्ने मागदाबी लिएको छ ।

बालुवाटार स्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । सीआईबीले पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छेदार सहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन राय दिएको थियो । प्रहरीको राय अनुसार ४ जना पूर्वमन्त्रीलाई प्रतिवादी कायम गरिएको छ ।

सरकारी वकिलले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सह–सचिव सुशील वैद्यलाई पनि प्रतिवादी बनाएको छ ।