काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मङ्सिरमा हुने केन्द्रीय महाधिवेशनको तयारीस्वरुप प्रदेश अधिवेशनमा जुटेको छ। आगामी मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने घोषणा गरेको राप्रपाले आगामी असोज २१ गते सातवटै प्रदेशमा एकैसाथ प्रदेश अधिवेशन गर्ने तय गरेको छ।
अधिवेशनलाई व्यवस्थित बनाउन केन्द्रीय निर्वाचन समितिले सातै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाइसकेको छ। जसअनुसार कोशीमा भरत पाठक, मधेशमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा।डा। जयन्तनाथ खनाल, गण्डकीमा अमृत पुडासैनी, लुम्बिनीमा तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिम प्रदेशमा श्यामबहादुर शाहीलाई निर्वाचन प्रतिनिधि तोकिएको छ।
हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको राप्रपाले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ तथा जुम्ला र धनकुटालाई असोज १५ गतेभित्र जिल्ला अधिवेशन सक्ने समय दिएको छ। यस्तै, पार्टीले महाधिवेशन प्रतिनिधिका लागि असोज १५ गतेसम्म सक्रिय सदस्यताको फाराम भर्ने र प्रविष्ट गर्ने समय निर्धारण गरेको छ।

प्रतिक्रिया