स्थानीय तह गठन भएपछि गाउँ–गाउँमा बजार, मुख्य व्यापारिक बजार सुनसान

स्थानीय तह गठन भएपछि गाउँ–गाउँमा बजार, मुख्य व्यापारिक बजार सुनसान


बागलुङ ।

कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो ।

बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड नै लाग्ने गथ्र्यो । तर पछिल्लो समय बागलुङ बजारदेखि यहाँका मुख्य व्यापारिक बजार सुनसान बन्दै गएका छन् ।

स्थानीय तह गठन भएपछि गाउँ–गाउँमा ससाना बजार विस्तार भइरहेका छन् । पहिले बागलुङ बजारमा पाइने सबैथोक अहिले गाउँमा पाइन्छन् । गाउँमा आवश्यक सामान पाइने भएपछि ग्राहक बजारमा आउन छोडेका छन् ।

बागलुङमा खास गरि २ मुख्य नाकाबाट सामान भित्रिने गर्छ । एउटा मालढुंगा नाका अर्को हाँडीखोला नाका । मालढुंगा नाकाबाट भित्रिने अधिकांश सामान वीरगञ्ज, काठमाडौँ र पोखराबाट आउँछ भने हाँडीखोला नाकाबाट भने बुटवल र सुनौलीबाट सामान भित्रिने गर्दछ ।

मालढुंगा देखि भित्रिने सामान पूर्वी बागलुङमा खपत हुने गर्छ भने हाँडीखोलाबाट भित्रिने पश्मिच बागलुङ र पूर्वी रुकुममा बढी खपत हुने गरेको छ । गाउँबाट समान किनमेलका लागि बजार झर्न छोडेपछि बागलुङ बजारमा व्यापार निकै कम भएको छ । गाउँगाउँमा मोटरबाटो पुगेपछि बजारमा घट्न थालेको बजार कोरोना संक्रमणकालपछि झन् सुस्ताएको छ ।

पछिल्लो समय आर्थिक मन्दीका कारणले गर्दा व्यापार निकै कम भएको व्यापारीको गुनासो छ । पछिल्लो एक वर्षयता व्यापार ५० प्रतिशतले आधा भएको उनीहरुको भनाइ छ । व्यापार घट्दै गएपछि बागलुङ बजारमा धमाधम व्यापारीले पसल बन्द गर्न थालेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव ऋषिराम गौतमले बताए ।

कोभिड–१९ ले सुस्ताएको व्यापार आर्थिक मन्दीका कारण व्यापारी समस्यामा परेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र महँगो भाडाका कारण व्यापारी पलायन हुने अवस्था आएको उनले बताए । पछिल्लो छ महिनामा बागलुङ बजारका एक बढी सटरमा गरिदै आएको पसल बन्द भएको उनको भनाइ थियो ।

केही समय अगाडि बागलुङमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी र इमेज सहकारीका सञ्चालकले व्यापारीको करोडौँ रकम हिनामिना गरे फरार भएपछि व्यापार व्यवसायमा थप समस्या सिर्जना भएको उनको भनाइ छ । “चाडवर्प आउन थाल्यो, बजार सुनसान छ, पहिला–पहिले यस्तो हुँदैनथ्यो, यो समय निकै चहलपहल हुन्थ्यो, अहिले व्यापारीलाई सामान खरिद गर्न भ्याइनभ्याइ हुन्थ्यो, अहिले महिनौँ अगाडि ल्याएर गोदाममा राखेको सामान यतिकै थन्किएका छन्”, महासचिव गौतमले भने, “व्यापारीलाई पहिले ल्याएर राखेका सामान कटाउनै मुस्किल छ, नयाँ सामान ल्याएर बिक्री गर्न सक्ने अवस्था छैन, गाउँपालिका÷नगरपालिका आएपछि घटेको व्यापार अहिले निकै कम भएको छ ।”

बागलुङ बजारमा ३० वर्षदेखि व्यवसाय गर्दै आएका डिल्ली गौतमले पछिल्लो समय व्यापार सुस्ताउँदा दैनिकी चलाउन गाह्रो हुने स्थिती आउन थालेको बताए । सङ्घीयताको प्रभावले गर्दा ६ वर्ष अगाडि बागलुङ बजारको व्यापार ५० प्रतिशतले घटेको भन्दै कोभिडपछि थप ३० प्रतिशत व्यापार कम भएको गौतमले बताए । पहिले बागलुङ बजार जिल्ला सदरमुकाम र साविक धौलागिरी अञ्चलको केन्द्र भएको हुँदा व्यापार निकै भएको स्मरण गर्दै अहिले गाउँगाउँसँग व्यापार बाडिएको बताए।

महासचिव गौतमले भने, “३० वर्ष अगाडिको तुलनामा अहिले बागलुङ बजारको व्यापार ८० प्रतिशतले कम भएको छ, व्यापार कम हुनुमा पहिलो त संघीयताको प्रभाव हो, त्यसपछि गाउँगाउँमा मोटरबाटो पुग्नु, २÷३ वर्ष कोरोना र अहिले आर्थिक मन्दी मुख्य कारण हो, बजारको अवस्था हेर्नुहुन्छ भने कहिले त एउटा सामान पनि विक्री हुँदैन, दिनभरी पसलमा बस्यो, अरु काम गर्नु पनि छैन, युवा त विदेश जालान्, अरु केही गर्लान्, हामी उमेरले नेटो काट्न लागेका गाउँ फर्किनुको विकल्प हुँदैन ।”

निसीखोलाका व्यापारी वीरबहादुर क्षेत्रीले ६ वर्षदेखि ग्रामीण क्षेत्रमा व्यापार बढ्दै गएको बताए । एक दशक अगाडिसम्म सुनसान गाउँमा अहिले व्यापारीक चहलपहल बढ्दै गएको बताए । निसीखोलाको देवस्थान, जुग्जाखोला, झिवाखोला, वडावन खोला, निसी, भल्कोट र सीपमा अहिले व्यापार फस्टाउँदो रहेको क्षेत्रीले बताए । पहिले यहाँका हजारौँ नागरिक सामान्य किनमेलाका लागि घण्टौँ लगाएर बुर्तिबाङ पुग्ने र घोडा खच्चडमार्फत सामान ढुवानी गरेर बेच्ने गरेको सुनाउँदै अहिले घरै अगाडि सडक आएको हुँदा सहज भएको उनले भने ।

“अहिले गाउँमा खान लागनको दुःख हरायो, पहिले दोकान, पसल धेरै टाढा हुन्थे, मान्छेले एउटा कपडालाई वर्षौसम्म सुरक्षित तरिकाले लगाउनुपथ्र्यो, नुन, तेल र चामल लामो समयसम्म पुग्ने गरी अड्कल गरेर खानु पथ्र्यो”, क्षेत्रीले भने, “अहिले घरघरमा पसल खुलेका छन्, गाउँलेलाई सहज भएको छ, व्यापार पनि राम्रो छ, पहिलेको जस्तो घोडा खच्चडमा ढुवानी गरेर महँगोमा बेच्नुपर्ने अवस्था पनि छैन, सुविधा पनि आयो, व्यापार पनि भयो । पालिकाको केन्द्र बनेपछि तमानखोलाको बोंगादोभान, ताराखोलाको भातखानेडाँडा, बरेङको बरेङडाँडा लगायतका गाउँमा व्यापार बढ्दो क्रममा रहेको व्यापारीको भनाइ छ ।

अहिले जिल्लाको बस्ती बस्तीमा सडक पुगेका छन् । सडकले गर्दा दुर्गम गाउँसम्म पनि ससाना पसल सञ्चालनमा आएका छन् । जसले स्थानीयको दैनिकीलाई सहज बनाइ दिइको छ । वर्खामा भने ग्रामीण सडक पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् ।