४४ जनाको दरबन्दी रहेको अस्पताल ३२ जनाको भरमा, विशेषज्ञ चिकित्सक १ जना पनि छैनन्

४४ जनाको दरबन्दी रहेको अस्पताल ३२ जनाको भरमा, विशेषज्ञ चिकित्सक १ जना पनि छैनन्


हुम्ला ।

स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) हुम्लामा पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव छ ।

अस्पतालमा ४४ जनाको स्वीकृत दरबन्दी छ । अहिले ३२ जना जनशक्ति मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । १२ जनाको दरबन्दी रिक्त छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी ३ जनाको भए पनि दरबन्दीअनुसार १ जना पनि चिकित्सक छैनन् । करारमा १ जना विशेषज्ञ डाक्टर मात्र अस्पतालमा कार्यरत छन् ।

विशेषज्ञ डाक्टर मात्र होइन, हुम्ला अस्पतालमा मेडिकल अधिकृत १ जना पनि स्थायी दरबन्दीमा छैनन् ।

करारका ५ जना मेडिकल अधिकृत र करारकै एक जना विशेषज्ञ डाक्टरको भरमा अस्पताल सञ्चालन भइरहेको छ । हाल अस्पतालमा करार र स्थायी गरेर जम्मा ६२ जना कर्मचारी कार्यरत छन् ।

स्थायी चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या हुनेगरेको छ । अस्पतालमा अहिलेसम्म नवौं तहका स्थायी चिकित्सक आएका छैनन् । अहिले अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले उपचार गरिरहेका छन् ।

१५ शैयाको स्वीकृति पाएको अस्पतालले बेड संख्या बढाएर २३ शय्याबाट सेवा दिइरहेको छ । विशेषज्ञ डाक्टर र मेडिकल अधिकृत दरबन्दी अनुसारका छैनन् । जसले गर्दा जटिल रोगका बिरामीको उपचारमा समस्या हुने गरेको छ ।