‘नाडा अटो शो’ मा १ सय २० स्टल रहने, प्रवेश शुल्क कति ?

‘नाडा अटो शो’ मा १ सय २० स्टल रहने, प्रवेश शुल्क कति ?


काठमाडौं।

भदौ अन्तिम साता राजधानीको भृकुटीमण्डपमा हुन लागेको ‘नाडा अटो शो’ मा १ सय २० स्टल रहने भएको छ ।

भदौ २६ देखि ३१ सम्म सञ्चालन हुने १५औं संस्करणको शो ७५ हजार दर्शकले अवलोकन गर्ने नाडाको अपेक्षा छ।

नाडा अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल छ भने सहप्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड छ।

यसै गरी शोको डोर प्राइजमा याडिया, टिकट पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल छन् भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज छ।शोमा प्रवेश गर्न २ सय रुपैयाँ तिर्नुपर्छ। विद्यार्थीलाई भने १ सय ५० रुपैयाँमात्र लाग्ने छ।

विद्यमान बजार सुस्तताबीच शोमा विभिन्न अटोमोबाइल कम्पनीको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यसखालको व्यापारिक गतिविधिको योगदानलाई प्रष्ट पारेको नाडाले जनाएको छ।

शोले बजार चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याइ छ। सँगसँगै चाडपर्वका पूर्वाद्धमा आयोजना हुन गइरहेको शोले अटो व्यवसायी, ग्राहकवर्ग, गाडीप्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष संलग्नलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकको विश्वास छ।

प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी सस्था तथा अवलोकनकर्ताको चाप बढ्दै गइरहेका सन्दर्भमा शोले सवारीसाधनलाई विलासितामात्र नभई सर्वसाधारणको जीविकोपार्जनका लागि चाहिने अत्यावशक साधनका रूपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ।

शोमा ठूला तथा साना गरी करिब १ सय २० स्टल र ब्लक रहनेछन्। शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने छ।

शोमा १६ ब्रान्डका चारपांग्रे तथा २२ ब्रान्८का दुईपांग्रे, सात ब्रान्डका लाइट कमर्सियल भेहिकल, नौ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको छ ।

शोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी सेवा सुविधा दिने जस्तै, वित्तीय सेवा, बिक्रीपछिका सेवा आदिका छुट्टाछुट्टै स्टल रहनेछन् भने अटोसम्बन्धी जानकारी दिने म्यागेजिन तथा पत्रपत्रिकाका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको नाडाले जनाएको छ ।

सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी व्यापक सुसूचित गराउने उद्देश्यसाथ महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको सूचनाकक्ष समेत शोमा रहने छ।

शोमा अवलोकनकर्ताको सुविधालाई विषेश ध्यानमा राखी दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स र ग्यारेज उपकरणका छुट्टाछुट्टै प्रदर्शन गरिने छ।

प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यु टावरलगायत सार्वजनिक पार्किङ स्थलबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिने नाडाका अध्यक्ष ध्रुव थापाले जानकरी दिए।

शो व्यवस्थित बनाउन प्रदर्शनीस्थलमा भीड कम गर्ने एवं आगन्तुक भ्रमणलाई सहज बनाउन खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

आजबाट भदौ २५ सम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीद्वारा २० प्रतिशत क्यास ब्याकको अफरसमेत छ।

६ दिनसम्म चल्ने नाडा अटो शोमा एक भग्याशाली अवलोकनकर्ताले लक्की ड्र मार्फत याडिया इ८ एस इलेक्ट्रिक स्कुटर जित्ने छन्।