भारतीय मालवाहक गाडी रोक लगाउन नेपाली व्यवसायीको माग

भारतीय मालवाहक गाडी रोक लगाउन नेपाली व्यवसायीको माग


काठमाडौँ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीमा रोक लगाउन माग गरेको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरूले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीमा रोक लगाउन माग गरेका हुन् ।

उनीहरूले निर्बाध रूपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए । त्यस्तै उनीहरूले काठमाडौँलगायत प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग गरेका छन् ।

महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले निर्धारित भाडादरको कार्यान्वयन हुनुपर्ने बताए । उनले ट्रक यातायातमा ४७ वटा मुख्यमुख्य रुटको भाडादर निर्धारण गरेको र त्यसको प्रभावकारी कार्यान्वयन नभएको बताए ।

भाडाको कार्यान्वयन र त्यसको अनुगमन प्रभावकारी बनाउन आग्रह उनको आग्रह छ । उनले सहज ढंगले दुर्घटना निकासको सुनिश्चितता, घाइतेको उपचार व्यवस्था, कानुनसम्मत भारवहन कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने पनि धारणा राखे ।

महासंघले राहतजन्य कार्यको व्यवस्थापन,राजस्व जाँचका बेला ट्रकमा भएको सामान र त्यससँग सम्बन्धित कागजातबीच कुनै किसिमको तालमेल नमिलेको वा सोसम्बन्धी विषयमा शंका लागेमा ट्रकलाई महिनौँसम्म थुन्ने, सामान जफत गर्ने सम्बन्धित ऐनहरूमा संशोधन गर्न माग गरेको छ ।