काठमाडौँ । साउदी अरबका विभिन्न स्थानमा भएका आक्रमणमा परी एक नेपालीसहित चार जनाको मृत्यु भएको छ।
बुधबार राति साउदी अरबको दम्मामस्थित विमानस्थलमा भएको पछिल्लो आक्रमणमा एक भारतीय र एक साउदी नागरिक गरी दुई जनाको मृत्यु भएको छ।
रियादस्थित भारतीय दूतावासले साउदी अधिकारीहरूलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार दम्माम विमानस्थलको घटनामा दुई जना भारतीय नागरिक घाइतेसमेत भएका छन्। दूतावासले विज्ञप्ति जारी गर्दै आक्रमणमा आफ्ना नागरिक हताहत भएको पुष्टि गरेको छ। दूतावासका अनुसार घटनाको थप विवरण संकलन गर्ने तथा पीडित परिवारसँग सम्पर्क स्थापित गर्ने कार्य भइरहेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले विमानस्थलमा ज्यान गुमाउने अर्का व्यक्ति साउदी नागरिक रहेको जनाएको छ।
यसअघि बुधबार बिहान साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको सरकारी तेल कम्पनी ‘साउदी अराम्को’ को परियोजनामा आक्रमण भएको थियो। उक्त आक्रमणमा परी एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको पुष्टि भएको छ। सो घटनामा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन्। ज्यान गुमाउने नेपाली नागरिकको नाम, ठेगाना र घटनाको विस्तृत विवरण भने अझै सार्वजनिक भइसकेको छैन।
यी आक्रमणहरू कसले र किन गराएको हो भन्नेबारे साउदी अधिकारीहरूले आधिकारिक पुष्टि गरिसकेका छैनन्। यद्यपि, यमनमा हुथी विद्रोहीसँग द्वन्द्व चर्किएको समयमा पछिल्ला घटनाहरू भएका कारण यसलाई सुरक्षा संवेदनशीलताका साथ हेरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया